१६ पुस, काठमाडौं
जंगली हात्तीको आक्रमणबाट मोरङमा एक महिलाको मृत्यु भएको छ ।
सुन्दरहरैँचा–५ डिपुमा स्थानीय ६० वर्षीया चन्द्रकला लिम्बूको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीकाअनुसार सोमबार दिउँसो दाउरा लिन घर नजिकैको जंगलमा गएकी लिम्बू साँझसम्म घर नफर्कीएपछि उनको खोजी सुरू भएको थियो ।
उनलाई आज विहान स्थानीयले जंगलको खोल्सीमा मृत अवस्थामा फेला पारेका हुन् । यस क्रममा हात्ती पनि नजिकै देखिएको स्थानीयले प्रहरीलाई अवगत गराएका छन् ।
यसअघि यही पुस ५ गते मोरङकै सुन्दरहरैँचा–७ मा स्थानीय ४० वर्षीया गंगामाया मगरको पनि जंगली हात्तीको आक्रमणमा मृत्यु भएको थियो ।
यसैबीच, पूर्वी चितवनमा गैंडाको आक्रमणमा २ जना महिला घाइते भएका छन् । खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् ।
घरमा आगो तापिरहेका बेला आज बिहान ६ः २० बजे उनीहरूलाई गैंडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटना लगत्तै दुवैलाई भरतपुर अस्पताल लगिएकोमा उनीहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।