Saturday, February 15, 2025

जलवायुका चुनौती सामना गर्न सबै एकजुट हुनुपर्छः प्रधानमन्त्री

११ पुस, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था तथा व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको सामना गर्न जुट्नुपर्ने बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित २९औँ विश्व जलवायु सम्मेलन (कोप २९)को समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रकृतिलाई स्वच्छ राख्न र दिगो संरक्षणका लागि एक भएर लाग्नुपर्नेमा जोड दिए ।

सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने उल्लेख गर्दै ओलीले जमिन सुख्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जंगलमा डढेलो लाग्न नदिन वन मन्त्रालयसँगै अरू निकायले पनि जागरण फैलाउनुपर्ने बताए ।

मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्ने उनको भनाइ थियो । विश्व तापमान वृद्धिका लागि नेपालको भूमिका नरहे पनि तर त्यसको मार खेप्न बाध्य हुनु परेको र नबिराएको काममा सजाय भोग्नुपरेको उल्लेख गर्दै उनले भने, ‘नेपाल प्रभावित हुनु हाम्रो मात्रै होइन, यो विश्वव्यापी मुद्दा हो ।’

जलवायुको मुद्दा हिमालको मात्रै नभएर हिमालसँग विश्वको तापमान प्रणाली जोडिएकाले हावालाई चिसो पार्ने क्षमता हिमालसँग मात्रै भएको ओलीले बताए । नेपाललाई जलवायु क्षतिपूर्ति दिइनुपर्छ भन्ने कुरा आफूले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा पनि सशक्तरूपमा राखेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले धर्तीको वातावरण रक्षाका लागि नेपालले २४ प्रतिशत भू–भाग संरक्षित गरेको उल्लेख गरे ।

कोप–२९ को समिक्षासहित अहिलेदेखि नै कोप–३० को तयारी थाल्न उनले आग्रह गरे । राष्ट्रसंघीय जलवायु परिवर्तन प्रारूप महासन्धीका पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन गत कात्तिक २६ गतेदेखि मंसिर ७ गतेसम्म अजरबैजानको बाकुमा भएको थियो ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार