Sunday, April 20, 2025

म्याग्दीको मुनामा भेटियो रेडपाण्डा

२४ मंसिर, म्याग्दी
धौलागिरि गाउँपालिका–३ मुनाको बञ्चरेडाँडा जंगलमा संकटापन्न जनावर हाब्रे (रेडपाण्डा) भेटिएको छ ।

मुना मालिका पुगेर फर्कने क्रममा आइतबार धौलागिरि गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको टोलीले समुद्री सतहदेखि ३ हजार १ सय मिटर उचाइमा रेडपाण्ड भेटेका हुन् । समुद्री सतहबाट २ हजारदेखि ४ हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले संकटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।

धौलागिरि गाउँपालिकाका कर्मचारी तेजिन्द्र पुनले रेडपाण्डाको तस्बिर र भिडियो खिचेर वन प्राविधिकलाई उपलब्ध गराउनुका साथै सार्वजनिक गरेका थिए । साविक मुना गाविसको जंगलमा पहिलोपटक रेडपाण्डा भेटिएको पुनले जानकारी दिए ।

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बञ्चेडाँडामा भेटिएको उक्त जनावर रेडपाण्डा भएको पुष्टि गरे । ‘भिडियो र तस्बिरका साथै त्यहाँ भेटिएको दिसाका आधारमा म्याग्दीको धौलागिरि क्षेत्रमा रेडपाण्डाको बासस्थान रहेको पुष्टि भएको छ’, उनले भने, ‘रेडपाण्डा संरक्षणका लागि मन्त्रालय र दातृ निकायका परियोजनामा कार्यक्रम प्रस्ताव गर्छौ ।’

विसं २०७३ मा विश्व वन्यजन्तु कोष डब्लुडब्लुएफको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो । रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ता बद्री बरालका अनुसार यसअघि यो जन्तुको बासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन ।

उनका अनुसार ८ वर्षअघि लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जंगलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन । बरालले भने, ‘संरक्षणका लागि जनचेतनामूलक कार्यक्रमको प्रभावका कारण रेडपाण्डाको संख्या वृद्धि भएर देखिन थालेका हुन् ।’

रेडपाण्डाको बासस्थान पहिचान गरेपछि तत्कालीन समयमा जिल्ला वन कार्यालय तथा स्थानीयसँगको सहकार्यमा गुर्जा र लुलाङका विद्यार्थी, समुदायलाई समेत सचेतनामूलक कार्यक्रमसहित यसको महत्वबारेमा जानकारी गराइएको थियो । रातको समयमा रूखको टोड्कामा बास बस्ने र दिउँसो रूखका हाँगामा आराम गर्ने, भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्ने रेडपाण्डाको महत्वबारेमा जानकारी पाएपछि समुदायस्तरमा पनि संरक्षणमा चासो बढेको छ ।

गुर्जा, लुलाङ र मुनाको जंगलमा रहेका रेडपाण्डाको गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको छ । डब्लुडब्लुएफको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले धाौलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ र मुदीमा हाब्रेको वासस्थानको विषयमा अध्ययन भएको थियो ।

धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले रेडपाण्डाको संरक्षणमा डिभिजन वन कार्यालय र संघ संस्थासँग समन्वय गरेर सचेतनामूलक अभियान सञ्चालन गरिने बताए । ‘रेडपाण्डा जोगाउन समुदायलाई नै थप सक्रिय बनाउँछौ’, उनले भने, ‘रेडपाण्डा अवलोकनका लागि पर्यटक भित्र्याउने सम्भावना पनि छ ।’ रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रूख गूर्जा, लुलाङ र मुनाको जंगलमा पर्याप्त छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षित सूचीमा राखेको छ । रेडपाण्डा संरक्षण गर्नसरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ । रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई १ वर्षदेखि १० वर्ष कैद र १ लाखदेखि ५ लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

पछिल्लो अध्ययनअनुसार हाब्रेको संख्या नेपालमा ५ सयदेखि १ हजार वटा रहेको अनुमान गरिए पनि २ सय ३७ वटाको मात्र यकिन भएको छ । विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको बासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ । नेपालको २४ वटा जिल्लामा हाब्रे पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार