कृष्णप्रसाद भुसाल
२० मंसिर, काठमाडौं
पानी र जमिन दुवैको अस्तित्व भएका सिमसार क्षेत्रमा आश्रित हुने चराका प्रजातिलाई जलपक्षी अथवा पानीचरा भनिन्छ । प्रजनन, चरन र विचरणका लागि यी चरालाई जलीय पर्यावरण आवश्यक पर्छ । नेपालमा हालसम्म अभिलेख भएका चराका ८ सय ९२ प्रजातिमध्ये करिब २ सय प्रजातिका पानीचरा छन् ।
तीमध्ये पनि करिब १ सय प्रजातिका चरा हिउँदे आगन्तुक हुन् । ती चरा हिउँदयामको सुरूवातसँगै उत्तरी भूगोलबाट बढ्दो जाडो छल्न नेपालमा बसाइँ सरी आउने गर्छन् । उत्तरी मुलुक रूस, किर्गिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरबैजान, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट पानीचरा अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा हाम्रा सिमसार क्षेत्रमा आउने गर्छन् ।
अहिले यी चराको नेपाल आगमन भइरहेको छ, उनीहरूले चैतसम्म यहाँ बिताउँछन् र त्यसपछि प्रजननका लागि आफ्नो स्थायी बसोबासतिर फर्किन्छन् । त्यसैले, यतिबेला सिमसार क्षेत्रहरूमा यहाँका आवासीय र पाहुना पानीचराका झुन्ड देख्न सकिन्छ । खास प्रकारको बासस्थानमा बस्ने र बसाइँसराइ पनि गर्ने पानीचरा सिमसारको स्वस्थता र बदलिँदो मौसमका सूचक मानिन्छन् ।
अन्य पारिस्थितिकीय प्रणालीभन्दा विशिष्ट, सबैभन्दा बढी उत्पादनशील र जैविक महत्वको क्षेत्र भएकाले सिमसारलाई ‘प्रकृतिको मिर्गौला’ पनि भनिन्छ । सिमसार क्षेत्रको गुणस्तर मापन त्यहाँ पाइने पानीचरा र तिनको संख्याले पनि निर्धारण गर्छ । उदाहरणका लागि कुनै सिमसार क्षेत्र ‘रामसार सूची’मा सूचीकृत हुने एउटा मापदण्ड त्यहाँ पाइने पानीचराका प्रजातिगत विविधता र संख्या पनि हो ।
विडम्बना, पछिल्ला वर्ष सिमसार क्षेत्र सबैभन्दा तीव्र गतिमा ह्रास हुँदै गएका छन् । सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रसायनिक मल/विषादीको चुहावट, ढल तथा फोहोर विसर्जन, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन, पर्यटन प्रबद्र्धनका नाममा तालतलैयामा अनावश्यक भौतिक संरचनाको निर्माणले पर्यावरणमा हानि गरिरहेको छ ।
मौसम र जलवायु परिवर्तनको पनि सबैभन्दा ठूलो असर हाम्रा सिमसार क्षेत्रमा परिरहेको छ । यसको सिधा असर पानीचरामा परेको छ । सन् १९८७देखि हरेक वर्ष हिउँदयाममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, हिमाली प्रकृति, नेपाल पन्छीविद् संघ, नेपाल पन्छी संरक्षण संघलगायतको समन्वयमा दुई सातासम्म देशभर पानीचरा गणना हुने गरेको छ । पछिल्ला वर्षका गणनाले अवस्था झन्झन् चिन्ताजनक देखाउँदै गएका छन् ।
चराविज्ञ आरेन्ड भान रिजेनको पुस्तक ‘द बर्डस् अफ बाग्मती एन्ड टौदह एरिया, २००३–२०१६’ मा जाडोयाममा बसाइँ सरी काठमाडौं उपत्यकाको वाग्मती र टौदह सिमसार क्षेत्रमा आउने ५२ प्रजातिका पानीचराको संख्या १४ वर्षमा तीव्र गतिमा घटेको उल्लेख छ । करिब अढाई दशकअघिसम्म चराको स्वर्गका रूपमा परिचित कोशीटप्पु वन्यजन्तु आरक्षका सिमसार क्षेत्रमा मात्र ५० हजार हाराहारीमा पानीचरा गणना गरिन्थ्यो ।
तर, अहिले देशभरका सिमसार क्षेत्रमा मुस्किलले ५० हजार पानीचरा भेटिन्छन् । गत वर्ष देशभरका ७९ सिमसार क्षेत्रमा ६२ हजार ९ सय १२ पानीचरा गणना गरिएको थियो । तर ५ वर्षअघि सन् २०१९ मा ६६ सिमसार क्षेत्रमा मात्र पनि ६९ हजार ५ सय ६३ पानीचरा गणना गरिएको थियो । यसले हरेक वर्ष नेपालमा पानीचराको संख्या घट्दै गएको देखाउँछ ।
नेपालमा हालसम्म अभिलेख भएका ४१ प्रजातिका विश्वकै दुर्लभ चरामध्ये १२ प्रजाति त पानीचरा नै पर्छन् । नेपालमा संकटापन्न अवस्थामा रहेका १ सय ६८ प्रजातिका चरामध्ये एक चौथाइ हिस्सा पानीचराले ओगटेका छन् । विभिन्न सिमसार क्षेत्र र पर्यावरणको सूचक रूपमा हेरिने यी पानीचराको संख्यामा आएको उल्लेख्य गिरावटले नेपालको बिग्रँदो वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतको ह्रासलाई जनाउँछ ।
मुख्य बासस्थान सिमसारको विनाशसँगै अवैध चरा सिकार तथा व्यापार, उडान मार्गमा हुने अवरोध, बढ्दो जल प्रदूषण र जलवायु परिवर्तनले पनि पानीचरालाई सकस पारिरहेका छन् । सिमसार क्षेत्रको सौन्दर्यकरणले सिमसारको गुणस्तर र आयु मात्र घटाएको हुँदैन, पानीचरालाई पनि असर गरिरहेको हुन्छ । उदाहरणका लागि काठमाडौं उपत्यकाको टौदहलाई हेर्न सकिन्छ ।
टौदह आज सिमेन्टी पिँढी, झिलीमिली बत्ती र वरिपरि कटेजले सिँगारिएको छ । विडम्बना, कुनै समय साइबेरिया क्षेत्रबाट हजारौंको संख्यामा आउने पाहुना पानीचरा अहिले देखिँदैनन् । हाल विश्वबाटै लोप भइसकेको अनुमान गरिएको गुलाफी टाउके हाँस कुनै समय टौदह क्षेत्रबाट अभिलेख गरिएको बताइन्छ ।
त्यतिमात्रै होइन विश्वमै दुर्लभ कैलो टाउके हाँस र अन्य सुइरोपुच्छ्रे हाँस, मालक हाँस, खोया हाँस, नादुन हाँसलगायत कैयौं पाहुना पानीचरा यस क्षेत्रबाट विस्थापित भएका छन् । अन्ततः टौदह फगत एक कृत्रिम पोखरी बन्दै छ ।
अन्तर्राष्ट्रिय महत्वको ‘रामसार सूची’मा सूचीकृत कपिलवस्तुको जगदीशपुर जलाशय पर्यावरण अमैत्री विकासको चपेटामा परिरहेको छ । सन् २०१७मा करिब २३ हजार पानीचरा गणना गरिएको जगदीशपुर तालमा गत वर्ष १२ हजार मात्र पानीचरा गणना गरिएको छ । सुनसरीको बर्जुताल, रूपन्देहीको गैंडाताल, बाँकेको कान्तिताल र बर्दियाको बढैया तालको अवस्था पनि चिन्ताजनक छ ।
बसाइँसराइ गरी आउने पानीचरा विशिष्ट प्रकारका हुन्छन् । उनीहरू हजारौं किलोमिटरको अत्यन्तै कठिन र चुनौतीपूर्ण यात्रा पार गरेर हाम्रा सिमसार क्षेत्रमा आएका हुन्छन् । उदाहरणका लागि खोयाहाँसले करिब ९ हजार मिटरमाथिसम्मको उडानबाट हिमाल नाघेर नेपाल आउँछन् । कोशी, नारायणी, कर्णाली र यिनका सहायक नदीमा हिउँद बिताउँछन् ।
अक्सिजन अत्यन्तै कम हुने र हावाको गति ३ सय २२ किलोमिटर प्रतिघण्टाभन्दा बढी हुने हिमालमाथि हेलिकोप्टरसमेत उड्न सक्दैन । न्यून तापक्रम हुने हिमाल पार गर्नुपूर्व खोयाहाँसले लामो दूरीको उडान भर्छ । जसका कारण उसको शरीरमा ताप पैदा हुन्छ र ठूला प्वाँखको भित्र हुने मसिना भुवादार प्वाँख (डाउन फिदर) ले तातोपना कायम राखिराख्छन्, हिउँ जम्न दिँदैनन् ।
खोयाहाँसको रगतमा हुने हेमोग्लोबिन कम मात्रामा उपलब्ध अक्सिजनलाई पनि सजिलै र छिटै सोस्न सक्ने खालको हुने वैज्ञानिकहरू बताउँछन् । हावा बहावको प्रतिकूल दिशामा पनि उड्न सक्ने यस चराले ८० किलोमिटर प्रतिघण्टाको गतिमा एक दिनमा १६ सय किलोमिटरभन्दा बढी दूरी पार गर्न सक्छ । आश्रयस्थल, उडानमार्ग र बाटोमा विश्राम गर्ने स्थानमा आउने ससाना अवरोधले पनि यस प्रकारका पानीचरालाई ठूलो असर गर्छ ।
सिमसार छाता पारिस्थितिक प्रणाली भएकाले समग्र पर्यावरणीय सन्तुलन र गतिशीलताका लागि यसको संरक्षण तथा उचित व्यवस्थापन जरुरी छ । सिमसार क्षेत्रको संरक्षण नै पानीचरा जोगाउने मुख्य आधार हो । त्यसका लागि सरोकारवाला निकाय, अनुसन्धानकर्ता र समुदायको सहकार्य जरूरी हुन्छ ।
विगतदेखि गरिँदै आएको पानीचरा गणना तथा तिनको बासस्थान अनुगमन र सचेतना अभिवृद्धिलाई अझ व्यापक, विस्तारित र प्रभावकारी बनाउनु आवश्यक छ । खासगरी संरक्षित क्षेत्रबाहिर अवस्थित सिमसार क्षेत्र तीव्र मानवीय दोहनको चपेटामा परेकाले तिनको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेछ ।
दिनानुदिन बढ्दो संकट झेलिरहेका पानीचरा र तिनको बासस्थान संरक्षणका लागि आवश्यक नीति निर्माण र कार्यान्वयनमा तीनै तहको सरकार, संरक्षण साझेदार संस्था, अनुसन्धानकर्ता र समुदायको प्रभावकारी सहकार्यको खाँचो छ ।
समूहमा बस्ने, हेर्दा आकर्षक देखिने र रोचक यात्रा तय गर्ने पानीचरालाई हेर्न र तस्बिर खिच्न थुप्रै स्वदेशी तथा विदेशी पर्यटक लालायित हुन्छन्, त्यसैले पर्यापर्यटन प्रबद्र्धनमा जोड दिन जरूरी छ । पानीचराको बसाइँसराइ र सिमसारसँगको सम्बन्ध मान्छेहरूको उद्विकास, बस्ती विस्तार र भौतिक प्रगतिभन्दा सदियौं वर्ष पहिलेबाटै हुँदै आएकाले उनीहरूको सनातन यात्रा र जैविक सम्बन्ध जोगाइराख्न हामी जिम्मेवार बन्नुपर्छ ।
(लेखक पक्षी अनुसन्धाता हुन्)
कान्तिपुर दैनिक