Thursday, November 28, 2024

ऐतिहासिक दह सुक्न थालेपछि स्थानीय चिन्तित

१३ मंसिर, बाग्लुङ
ऐतिहासिक गाजाको दहनजिकै व्यापार गर्दै आएका नरबहादुर थापाका अनुसार दशक अघिसम्म दहमा पानीको सतह भरिभराउ देखिन्थ्यो । पछिल्लो समय दहमा पानी सुक्दै गएको छ ।

वर्षातमा हावा चल्दा तालको छालले छेउका घरमा असर गर्ने डर हुन्थ्यो । तर, अहिले त वर्षातमा पनि यो ताल सुक्खाजस्तै भयो । भरिभराउ हुनुपर्ने तालको आधा पनि पानी नभरिएपछि स्थानीय चिन्तामा छन् । २ हजार ५ सय मिटर उचाइको दह सुक्दा पर्यटकीय स्थल ओझेलमा पर्ने, तल्लो खण्डमा पानीको समस्या बल्झिने चिन्ता बढेको थापाले बताए ।

सयौँ वर्षदेखि पहाडको धुरीमा रहेको बागलुङको प्रसिद्ध गाजाको दह पछिल्लो समय सुक्दै जान थालेको हो । हिउँदमा नसुक्ने, बर्खामा धमिलो पनि नहुने विशेषता बोकेको यो दहमा डोजर लगाएर संरक्षण गर्न खोज्दा पानी घटेको स्थानीयको अनुमान छ ।

५ वर्षअघि यहाँ पर्खाल लगाएर पानी संरक्षण प्रयास गरिएको थियो । यसका लागि डोजर लगाएपछि पानीको सतह सुक्दै जान थालेको स्थानीयले जनाएका छन् । बागलुङ सदरमुकामदेखि २४ किलोमिटर पश्चिमको यात्राबाट पुगिने गाजा दह पर्यटकीय र धार्मिक गन्तव्य हो ।

यहाँ सिद्ध बराहको थान छ । यो थानमा जैमिनी, गलकोट, बागलुङ नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकावासी पूजा गर्न पुग्छन् । त्यसबाहेक अन्यत्रबाट पनि घुम्न जानेहरू धेरै छन् ।

यो दहबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसहित मनास्लु हिमालसमेत देखिन्छ । उच्च पहाडमा भएकाले हिउँदमा हिउँ पर्छ । जंगल छेवैमा भएर पनि यो ताल सधैँ सफा हुन्छ । यसैले यहाँ पर्यटक जाने–आउने गर्छन् । यहाँबाट बागलुङसहित पर्वत, गुल्मी, म्याग्दी र स्याङ्जाका धेरै क्षेत्र देखिन्छन् । त्यसैले यहाँ पैदलयात्रा गरेर पनि पर्यटकहरू पुग्ने गर्छन् ।

यो दह धार्मिक रूपमा पनि प्रसिद्ध छ, तर संरक्षणको नाममा डोजर लगाएर पानी घटेका थापा बताउँछन् । उनले अब मौलिक रूपमै संरक्षण नगरे दहको अस्तित्व सकिने बताए । सडक अप्ठ्यारो भएकोले गाजा दह पुग्ने सडकलाई स्तरीय बनाउन पनि उकोले माग छ ।

गाजाको दह छेवैमा रहेको सिद्धथानमा वैकुष्ठ चतुर्दशी तथा बाला चतुर्दशीमा मेला लाग्ने गरेको छ । बाला चतुर्दशीमा त सतबिज झर्नेको भिडसमेत हुन्छ । पूर्णिमा मेला र विभिन्न चाडपर्वमा गाजा दह नुहाउने भक्तजन पनि पुग्छन् । धार्मिक र पर्यटकीय स्थान भएकाले पर्यटन क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने स्थानीयको माग छ ।

गण्डकी प्रदेश सरकारले यो दहलाई पर्यटन क्षेत्रमा सूचीकृत गरेको छ । तर, पूर्वाधार निर्माणमा बजेट नदिएको स्थानीयले गुनासो गरेका छन् । सिद्ध बराह मन्दिर र ताल संरक्षण गर्न स्थानीयले महायज्ञसमेत लगाएका छन् । शनिबारदेखि सुरू भएको महायज्ञ सात दिन चल्ने जैमिनी नगरपालिका– ३ का वडाध्यक्ष कृष्णबहादुर भुजेलले बताए । यो महायज्ञ धार्मिक मात्र नभई सांस्कृतिक र दह संरक्षणको अभियान भएको उनको भनाइ छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार