Thursday, November 21, 2024

वन मन्त्रालय र डब्लुडब्लुएफ बीच सम्झौता

२४ कात्तिक, काठमाडौं
नेपालको जलवायु कार्य प्रयासलाई थप परिणाममुखी बनाउन वन तथा वातावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल बीच सम्झौतामा भएको छ ।

यो सम्झौताले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी)को उद्देश्य पेरिस सम्झौताअन्तर्गत बृहत् पारदर्शिता ढाँचा (इटिएफ)का आवश्यकताहरू पूरा गर्न राष्ट्रिय क्षमता निर्माण गर्ने लक्ष्य राखेको छ ।

सम्झौता परियोजना जलवायुका क्षेत्रको नेपालको राष्ट्रिय प्रतिबद्धतामा भएको प्रगतिको प्रतिवेदन तयार गर्ने क्षमतालाई सुदृढ गर्न केन्द्रित हुनेछ । ‘विश्वव्यापी जलवायु कार्यको लागि यो महत्वपूर्ण प्रतिबद्धता हो । यो परियोजनाले कृषि, वन, ऊर्जा, उद्योग र फोहोरजस्ता क्षेत्रहरूमा हरितगृह ग्याँस उत्सर्जनको निगरानीका लागि संस्थागत गर्न योगदान गर्ने छ’, शुक्रबार (२३ कात्तिकमा) सम्झौता पश्चात डब्लुडब्लुएफ नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सम्झौतामा वन मन्त्रालयका सहसचिव एवं मन्त्रालयको योजना, अनुगमन र समन्वय महाशाखा प्रमुख बद्रीराज ढुंगाना र डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले हस्ताक्षर गरे । ३ वर्षे सम्झौता अवधिको सहयोगात्मक परियोजनाको बजेट २.८४ मिलियन अमेरिकी डलर रहेको छ ।

डब्लुडब्लुएफ नेपालका डा. गुरुङले यो साझेदारीले नेपालमा जलवायु शासन प्रणाली निर्माण गर्ने दिशामा महत्वपूर्ण कदम अघि बढेको बताए । यसले नेपाललाई आफ्नो जलवायु लक्ष्यहरू प्राप्त गर्न र विश्वव्यापी जलवायु कार्यमा योगदान गर्न सक्षम बनाउने राष्ट्रिय क्षमता र प्रणालीलाई सुदृढ पार्न योगदान गर्ने उनको भनाइ छ ।

वन मन्त्रालयका सहसचिव ढुंगानाले सम्झौता नेपालको जलवायु कार्य रणनीतिको महत्वपूर्ण कोशेढुंगा भएको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार