Friday, November 22, 2024

जिसीको अध्यक्षतामा एफओएनको नयाँ कार्यसमिति

२२ कात्तिक, काठमाडौं
वन्यजन्तु र जैविक विविधताको अध्ययन अनुसन्धानमा क्रियाशील संस्था ‘फ्रेन्ड्स अफ नेचर’ (एफओएन)ले सोम जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

बुधबार (२१ कात्तिकमा) सम्पन्न साधारणसभाले आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः डा. प्रेमराज न्यौपाने, कृष्णप्रसाद भुसाल र विशाल गौतम छन् । ९ सदस्यीय कार्यसमितिमा चिरञ्जिवी खनाल, निकिता फुयाँल, निता पोखरेल, ऋषि बराल र यादवप्रसाद घिमिरे कार्यसमिति सदस्य छन् ।

अध्यक्ष जिसी गत चैतदेखि एफओएनका अन्तरिम अध्यक्ष थिए । चितवनका उनी पक्षी अनुसन्धाता र जैविक विविधता संक्षणकर्मी हुन् । यसअघि उपाध्यक्ष र कोषाध्यक्ष रहेका न्यौपाने र गौतम पुनः यही पदमा दोहोरिएका छन् । पदाधिकारीमा भुसाल भने नयाँ हुन् । उनी यसअघि कार्यसमिति सदस्य थिए ।

अढाई दशकअघि (सन् २००५मा) स्थापना भएको यो संस्थाले १२ वर्षयता नेपालका विभिन्न जिल्लामा लाटोकोसेरो महोत्सव गर्दै आएको छ । महोत्सवमा नेपाल र विभिन्न देशका अनुसन्धाता, संरक्षणकर्मीले समुदायसँग आफ्ना ज्ञान र अनुभव आदानप्रदान गर्दै आएका छन् ।

एफओएन एसियामै लाटोकोसेरो महोत्सव सुरु गर्ने पहिलो संस्था हो । एफओएनका विज्ञ र अनुसन्धाताको आग्रह तथा राय सुझावपछि सरकारले १० वर्षे लाटोकोसेरो संरक्षण कार्ययोजना बनाएको छ ।

साथैै यो संस्थाले हरेक वर्ष ‘वन्यजन्तु अनुसन्धान विधि तालिम’ आयोजना गर्दै आएको छ । नेपालमा वन्यजन्तुको अनुसन्धान र संरक्षणको क्षेत्रमा क्षमतावान युवापुस्ता निर्माणमा एफओएन जुट्दैै आएको छ ।

यस्तो तालिममा हालसम्म १ सय ८१ जना सहभागी भएका सचिव भुसालले जानकारी दिए । ‘जैविक विविधताले धनी तर ओझेलमा परेका स्थानलाई चिनाउने र संरक्षणका योजना बनाउने कार्यमा समेत एफओएन जुट्दै आएको छ’, उनले भने ।

नयाँ कार्यसमिति चयनअघि कार्यकारी निर्देशक राजु आचार्यले संस्थाको कार्य प्रगति विवरण पेश गरे । साथै कोषाध्यक्ष गौतम र लेखा प्रमुख केशव दाहालले आर्थिक प्रतिवेदन गरे ।

ताजा समाचार

सम्बन्धित समाचार