Monday, December 9, 2024

नेवापस मानार्थ सदस्य डा. सैंजुको अन्त्येष्टी

१६ कात्तिक, काठमाडौं
नेपाल वातावरण पत्रकार समूह (नेवापस)का मानार्थ सदस्य डा. मोहनमान सैंजुको आज (शुक्रबार अपराह्) अन्त्येष्टी गरिएको छ ।

सैंजुको यही मंगलबार साँझ ५ बजे (१३ कात्तिकमा) आफ्नै निवास ललितपुरको सानेपामा ८३ वर्षको उमेरमा निधन भएको थियो । अमेरिकामा रहेका उनका छोरा मनिषमान आज विहान मात्रै स्वदेश फर्किएकाले अन्त्येष्ठी ३ दिन ढिलो भएको हो ।

पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा सैंजुलाई छोरा मनिषले दागवत्ती दिए ।

अन्तिम दाहसंस्कार अगाडि विद्युतीय शव दाहगृह प्रांगणमा सैंजुको पार्थिव शरीरलाई श्रदाञ्जलीका लागि राखिएको थियो । अन्तिम श्रदाञ्जलीका लागि उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, अर्का उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, विभिन्न दलका नेता, पूर्व राजदूतहरू, पूर्व प्रशासकहरू आर्यघाट पुगे ।

सन् १९४१ मा पाल्पाको तानसेनमा जन्मिएका सैंजुले २०४३ साल जेठ १८ गते आइतबार नेवापसको विधिवत् उद्घाटन गरेका थिए । नेवापस दर्ताका क्रममा भएको सरकारी अल्झन सहज बनाउन उनले सहजीकरण गरेका नेवापसका अग्रजहरू स्मरण गर्छन् ।

करिब १ दशयकयता पार्किन्सन रोगसम्बन्धी समस्या झेल्दै आएका सैंजुको स्वास्थ्य सुधारका लागि नियमित फिजियोथेरापी हुँदै आएकोमा पछिल्ला २ वर्षयता शरीर झनै कमजोर बनेको उनका ज्वाइँ प्रतिकमान सिंह प्रधानले बताए ।

अमेरिकाका लागि पूर्व नेपाली राजदूत सैंजु, राष्ट्रिय योजना आयोग र गरिबी निवारण कोषका उपाध्यक्ष, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष तथा नेपालको पुरानो थिंकट्यांक आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा)का प्रमुख एवं विशेषज्ञ थिए ।

सैंजुका आर्थिक, सामाजिक तथा विकास नीतिसम्बन्धी दर्जनौं लेख विभिन्न पत्रपत्रिकामा अंग्रेजी तथा नेपाली भाषामा प्रकाशित छन् । स्वर्गीय सैंजु सुप्रबल गोरखा दक्षिण बाहु, महेन्द्र विद्या भूषण, प्रबल त्रिशक्ति पट्टलगायतका विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित थिए ।

उनको काजकिरिया सानेपास्थित निवासमा हुने सैंजुका ज्वाइँ प्रधानले जानकारी दिए । स्वर्गीय सैंजुकी श्रीमती माधुरी, छोरी डा. मिता प्रधान र छोरा मनिष छन् ।

ताजा समाचार

सम्बन्धित समाचार