४ कात्तिक, दोलखा
दोलखाको भीमेश्वर नगरपालिका–१, सुस्पा बढी पानी पर्ने स्थानका रूपमा परिचित छ । यस ठाउँलाई पहिरो जान सक्ने अति जोखिमका रूपमा राखेर भीमेश्वर नगरपालिकाबाट पहिरो एप ‘अलर्ट भीमेश्वर’ जडान गरिएको छ ।
तयार पारिएको एप जडान गरेका कारण आफ्नो वडावासीलाई पानीको मात्रा र पहिरो जान सक्ने अवस्थाबारे सुसूचित गराउन सकिएको वडा नं. १ का वडाध्यक्ष माधव थामीले बताए । उनका अनुसार यहाँ जडित उपकरणमार्फत विशेष गरी ३ वटा विषयमा जानकारी हुनेछ ।
पहिलो यस स्थानमा पानी कहाँ कति परिरहेको छ भन्ने कुरा मोबाइलमा थाहा हुन्छ । दोस्रो २४/२४ घण्टामा रिपोर्ट मोबाइलमा आउने गर्छ । तेस्रो माटोको चिसोपन कत्तिको छ भन्ने कुरा पनि यसै एपमार्फत जानकारी हुन्छ । यसका अतिरिक्त जमिनमा हलचल आएको छ कि छैन भन्ने कुरा पनि एपबाट प्राप्त हुँदै आएको छ ।
यो उपकरण जडान गरेपछि २ पटक पहिरोको पूर्वानुमान गरेर नागरिकलाई सन्देश पठाएको र सुरक्षित ठाउँमा जान सजिलो भएको वडाध्यक्ष थामीको अनुभव छ । २४ घण्टाभित्रै १ सय २० मिलिमिटर पानी परेको हुँदा धेरै ठाउँमा सानातिना पहिरा गएका थिए ।
यो एपबाट पहिरोको अभिलेख हेर्दा वर्षायाममा एक सयभन्दा बढी सानाठुला पहिरा गएका छन् । त्यसमध्ये पनि यस वर्ष बोसिम्पामा २५/३० वटा सानातिना पहिरा गएको नगरपालिका नगर आपत्कालीन सञ्चालन केन्द्रको अभिलेखमा देखिन्छ । अत्यधिक वर्षा हुने भएकाले पनि बोसिम्पा पहिरोको उच्च जोखिममा छ ।
अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सहयोगमा भीमेश्वर नगरपालिका–१, बोसिम्पामा पूर्वसूचना प्रणाली अन्तर्गत उपकरण जडान गर्नुका अतिरिक्त नागरिक वैज्ञानिकमार्फत पनि वर्षाको मात्रा मापन र अध्ययन थालिएको छ ।
एसिएन डिजास्टर प्रिपेयरनेस सेन्टर (एडिपिसी) को आर्थिक सहयोग र जल तथा मौसम विज्ञान विभागको प्राविधिक सहयोगमा भीमेश्वर नगरपालिकाभित्र नागरिक वैज्ञानिकसमेत खडा गरिएको छ । प्रत्येक वडामा वर्षाको मात्रा मापन गर्न ५५ जनालाई तालिम प्रदान गरी कार्यक्षेत्रमा खटाइएको विपत् व्यवस्थापन सम्पर्क अधिकृत एवं पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा प्रमुख इन्जिनियर सुरेश राउतले जानकारी दिए ।
तालिमप्राप्त नागरिक वैज्ञानिकले पनि आफ्नो टोलबस्तीमा कहाँ कति वर्षा भएको छ भन्ने कुरा सहजै जानकारी प्राप्त गर्न सक्छन् र ती कुरा सम्बन्धित निकायमा जानकारी गराउँछन् । पहिरो एप अर्थात् अलर्ट भीमेश्वरले सूचना विस्तृतीकरणमा झन् ठुलो टेवा पु-याएको छ ।
अलर्ट भीमेश्वरलाई प्रभावकारी बनाउनका लागि नगर आपत्कालीन सञ्चालन केन्द्रले १५ जनाको टिममा म्यासेज पठाउने व्यवस्था गरेको छ । त्यस्तै २४ घण्टाको अवधिमा कहाँ कति पानी प¥यो भनेर सामाजिक सञ्जाल र स्थानीय एफएम रेडियोबाट समेत प्रसारण गर्दै आएको राउतले जानकारी दिए ।
यस्तै पहिरो एप धादिङको नीलकण्ठ नगरपालिकामा पनि सञ्चालनमा ल्याइएको छ । भीमेश्वर नगरपालिकाले सञ्चालन गरेको नगर आपत्कालीन सञ्चालन केन्द्रको रेकर्ड अनुसार भूकम्प, आगलागी, चट्याङ, सडक दुर्घटना, जनावर आक्रमण, डुबान, विद्युत् दुर्घटना, महामारी, हावाहुरी, भूकम्पलगायतको घटनाभन्दा बढी बाढीपहिरोमै परेर मृत्यु भएको देखिन्छ ।
२०७७ सालदेखि २०७९ सालसम्मको डाटा अनुसार जिल्लाभर बाढीपहिरोमा १ सय ५० जनाको मृत्यु भएको देखिन्छ । त्यसैले पनि भीमेश्वर नगरपालिकालगायत युएसएआइडी तयार नेपालले विपद्लाई पहिलो प्राथमिकता दिएको छ । जसमध्ये पहिरोबाट जोगिनका लागि विभिन्न विधि अपनाएको छ ।
पहिरोमा आधारित पूर्वसूचना प्रणालीले पहिलो पटक भीमेश्वरलाई लाइभ डेटाको युगमा प्रवेश गराएको छ । यसबाट प्राप्त मौसमसम्बन्धी डेटा र मूलतः बर्सातको डेटाले प्रत्येक वर्ष मनसुन अवधिमा हुने सानाठुला पहिरो पूर्वतयारीमा महत्वपूर्ण योगदान दिएको छ ।
यसलाई नै आधार मानेर भीमेश्वरले हाल जल तथा मौसम विभागको सहकार्यमा प्रभावमा आधारित पूर्वानुमान जारी गर्न थालेको छ । यसको सिकाइले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामा महत्वपूर्ण कार्यहरू भएका छन् ।
युएसएआइडी तयार नेपालको सहयोगमा तीन तहका चार वटै क्षेत्रमा देखिने गरी भीमेश्वर नगरपालिकाले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यहरू सम्पादन गर्न सकेको नगर उपप्रमुख कमला बस्नेतले बताइन् ।
गोरखापत्र दैनिक