Sunday, October 6, 2024

कार्कीको अध्यक्षतामा नेवापसको नयाँ कार्यसमिति

१८ असोज, काठमाडौं
नेपाल वातावरण पत्रकार समूह (नेवापसको)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन् ।

नेवापस परिसरमा भएको ३९औँ साधारणसभा पछिको मतदानमा कार्की विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी रोशनी अधिकारी पाठक थिइन् । उनी निवर्तमान अध्यक्ष हुन् । कूल १ सय ४ जना मतदाता रहेकामा निर्वाचनमा ७४ मत खसेको प्रमुख निर्वाचन आयुक्त डा. रवि शर्मा अर्यालले जानकारी दिए ।

त्यसैगरी, उपाध्यक्षमा टीका बन्धन विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी सुरेश शर्मा थिए । महासचिव, सचिव र कोषाध्यक्षमा भने यसअघि नै क्रमशः कमलदेव भट्टराई, सृष्टि काफ्ले र भीष्मराज ओझा निर्विरोध निर्वाचित भएकाले यी पदमा मतदान भएन ।

त्यस्तै, २ सदस्य (पुरूष)का लागि भएको निर्वाचनमा यम बम र रामप्रसाद भण्डारी विजयी भए । नव निर्वाचित कार्यसमितिको कार्यकाल आगामी २ वर्षका लागि हो ।

जम्मा ११ सदस्यीय कार्यसमितिका लागि भएको मतदानमा २ जना महिला सदस्य र २ जना विज्ञ सदस्यको उम्मेदवारी नपरेकाले उक्त पदमा नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचनका लागि समूहका विज्ञ सदस्य डा. शर्माको संयोजकत्वमा निर्वाचन कमिटि गठन भएको थियो ।

अध्यक्षमा निर्वाचित कार्की २ वर्षअघि समूहका उपाध्यक्ष थिए भने नवनिर्वाचित बन्धन यसअघि पनि कार्यसमितिमा उपाध्यक्ष नै थिए । महासचिवमा निर्वाचित भट्टराई अन्नपूर्ण एक्सप्रेस दैनिकका सम्पादक हुन् । उनी यसअघि नेवापसको समाचार पोर्टल हाकाहाकी अनलाइनमा सम्पादक थिए ।

सचिवमा निर्वाचित काफ्ले यसअघि पनि समूहकै सचिव थिइन् भने नवनिर्वाचित कोषाध्यक्ष ओझा समूहका सदस्य थिए । निर्वाचनअघि साधारणसभाले महासचिव सविन शर्मा, कोषाध्यक्ष सोमनाथ लामिछाने र लेखासमिति सदस्य निमेष अधिकारीले प्रस्तुत गरेको प्रतिवेदन छलफल पश्चात पारित ग-यो ।

समूहले हरेक वर्ष प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका बझाङ सम्वाददाता वसन्तप्रताप सिंहले प्राप्त गरे । समूहका पूर्व अध्यक्ष ओम खड्काले उनलाई सम्मानपत्र र नगद राशी हस्तान्तरण गरे । साथै समूहका संस्थापक सदस्य भारती पाठक सिलवाललाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । विशेष कारणवस साधारणसभामा अनुपस्थित उनलाई कार्यसमितिले पछि सदस्यता प्रदान गर्ने बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार