Friday, September 20, 2024

जलवायु प्रभावः २ हजार मिटर उचाइमा फल्न छाड्यो स्याउ

४ असोज, मस्ताङ
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीस्थित जनशान्ति माध्यमिक विद्यालयमा विगत ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौडेल विदामा घर जाँदा म्याग्दीको सिमाना घाँसाबाट स्याउ कोसेली लान्थे ।

उनका अनुसार कागबेनीमा छिटपुट मात्रै स्याउ उत्पादन हुन्थ्यो । ‘तत्कालीन समयमा बोकेर लैजानुपर्ने भएकाले सबैभन्दा तल पर्ने लेते–घाँसामा बोटबाट आफैंले टिपेर घर जाँदा स्याउ लैजाने गरिन्थ्यो,’ उनले विगत स्मरण गरे, ‘अहिले घाँसा, लेतेमा स्याउको बगैंचा नै छैन । उपल्लो क्षेत्रमा पर्ने लोमान्थाङमा स्याउ फल्न थालेको छ ।’

दशकअघिसम्म जोमसोम र मार्फाबाट स्याउ किनेर लैजाने लोघेकर दामोदरकुण्ड गाउँपालिका–४, घाराकी छेमा गुरुङले ३ हजार ९ सय मिटर उचाइको घारा गाउँको बगैंचामा स्याउ फलाउन थालेकी छिन् । ‘पहिले धेरै स्याहार सुसार र मिहिनेत गरे पनि स्याउ फल्ने गरेको थिएन,’ उनले भनिन्, ‘तापक्रम बढ्न थालेपछि र मौसमको परिवर्तनका कारण अहिले घारामा पनि सजिलै स्याउ फल्न थालेको छ ।’

मुस्ताङको मौसम र तापक्रममा आएको परिवर्तनको असर प्रमुख कृषिबाली स्याउ खेतीमा पनि देखिएको कृषक र प्राविधिकले बताएका छन् । तल्लो क्षेत्रमा नासिदै गएको स्याउ खेती माथिल्लो भेगमा फैलिँदै गएको छ । थासाङ गाउँपालिका–२, कोवाङका कृषक जीवन थकालीले तापक्रम वृद्धि र नयाँ रोग देखिन थालेपछि स्याउखेतीमा चुनौती सिर्जना भएको बताए । ‘पहिलेको तुलनामा धेरै पानी पर्ने, सिजनमा हिउँ नपर्ने, बेसिजनमा हिउँ पर्ने र कम फल लाग्ने समस्या देखिएको छ’, उनले भने, ‘बगैंचा व्यवस्थापन, सिँचाइ र किराबाट बचाएर स्याउ खेतीलाई निरन्तरता दिएका छौं ।’

कोवाङ क्षेत्रको बगैंचाको स्याउमा दादे रोग चुनौतीका रूपमा देखिएको थकालीले बताए । स्याउ खेती हुन छाडेपछि लेते, कुञ्जो, कोवाङ, घासाँका कृषकले विकल्पमा ओखर खेती गर्न थालेका छन् । जोमसोमदेखि तल्लो भेगमा अत्यधिक स्याउ खेती हुने भएकाले २०२३ सालमा सरकारले मार्फामा शीतोष्ण बागबानी विकास केन्द्र स्थापना गरेको थियो ।

स्याउलगायत हिमाली फलफूल, तरकारी र खाद्यबालीको अध्ययन, जैविकीय गुणको संरक्षण र बीउको विकास गर्दै आएको केन्द्रका प्रमुख पद्मनाथ आत्रेयले मुस्ताङमा स्याउ खेती उकालो चढ्दै गएको बताए । ‘सैद्धान्तिक हिसाबले सामुद्रिक सतहदेखि २ हजारदेखि ३ हजार मिटरको उचाइको भूगोलमा स्याउ खेती हुनुपर्ने हो,’ उनले भने, ‘२ हजार मिटर उचाइको भूगोलमा स्याउ खेती नासिएको छ । ४ हजार मिटरको उचाइमा स्याउ उत्पादन हुन थालेको छ ।’

स्याउको परागशेचनका लागि चिसो हावापानी र मौसम आवश्यक पर्छ । उच्च गुणस्तरको जातका स्याउ परागशेचन हुन एक हजारदेखि १ हजार ६ सय घण्टा ७ डिग्रीभन्दा कम तापक्रम आवश्यक पर्छ । मध्यम गुणस्तरको स्याउलाई ६ सयदेखि १ हजार घण्टा र कम गुणस्तरको स्याउको परागशेचनका लागि ४ सयदेखि ६ सय घण्टासम्म ७ डिग्री भन्दा कम तापक्रम आवश्यक पर्छ ।

स्याउको परागशेचन हुने समयमा तल्लो मुस्ताङको तापक्रम न्यूनतम १६ देखि अधिकतम २१ डिग्री हुँदा गत वर्ष उत्पादन ४० प्रतिशतले घटेको थियो । ४० प्रजातिका स्याउको संरक्षण गरिरहेको केन्द्रले तापक्रम प्रतिकूल हुन थालेपछि उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका–२, घमीमा बागबानी फार्मको शाखा स्थापनाको तयारी गरेको केन्द्रका प्रमुख आत्रेयले बताए ।

‘जलवायु परिवर्तनको सामना गर्दै स्याउको जिन संरक्षणका लागि माथिल्लो क्षेत्रमा शाखा कार्यालय खोल्नुपर्ने अवस्था आएको हो,’ आत्रेयले भने, ‘स्थानीयले पनि स्याउ खेती गरिरहेको घमीको भूगोल र हावापानी उपयुक्त देखिएकाले जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएका हौं ।’ तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण खेती हुने भूगोल फेरिनुका साथै स्याउ छिटो पाक्न थालेको छ ।

पहिले असोज लागेपछि गुलीयो पस्ने गरेकोमा यसपालि गर्मी धेरै भएकाले भदौको दोस्रो हप्तामै खानयोग्य भएको घरपझोङ गाउँपालिका–२, मार्फाका ७९ वर्षीय लालप्रसाद हिराचनले बताए । ’पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो,’ उनले भने, ’यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ । स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ ।’

मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत नेत्र भट्टले गत हिउँदमा लामो समयसम्म चिसो नरहेको र तापक्रम छिटो बढेकाले केही जातका स्याउ पाकेको बताए । ‘उच्च घनन्वको गाला र रिङरोट जातको स्याउ स्थानीय जातको भन्दा छिटो पाक्छन्,’ उनले भने, ‘स्थानीय जातको स्याउमा पनि गुलियोपन नाप्दा विगतको तुलनामा केही समयअघि पाकेको पाइयो ।’

उपकरणको सहायताले स्याउको गुलियोपन नापिन्छ । गुलियोपनको मात्र १२ प्रतिशत भएपछि स्याउ टिप्न योग्य हुन्छ । दानाभित्रको गेडा कालो भयो भने पनि स्याउ पाकेको मानिन्छ । उच्च घनत्वको गाला प्रजातिका स्याउ १० भदौ र रिङरोट जातको स्याउ १५ भदौदेखि नै टिप्न थालिएको थियो । स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ १ असोजदेखि टिपेर बजार पठाउन थालिएको छ ।

अनुकूल मौसम, बगैंचा व्यवस्थापन, रोगको समस्या कम देखिएकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताए । गत वर्षका तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए । मुस्ताङको १ हजार ४ सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५ सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटालीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ ।

गत वर्ष ४ हजार ९ सय ७५ मेट्रिक्टन स्याउ उत्पादन भएको र ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोशेलीका रूपमा स्याउ किनेर लैजाने गर्छन् । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुकुटी बनाउन प्रयोग हुन्छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार