Friday, September 20, 2024

बाँदर आतंक रोक्न समिति

४ असोज, तनहुँ
देवघाट गाउँपालिकाले बाँदर व्यवस्थापन तथा अध्ययन समिति गठन गरेको छ । बाँदर आतंक बढ्दै गएकाले समिति गठन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले बताए ।

अन्नबाली, फलफूल नष्ट गर्ने मात्रै नभई मानिसमाथि नै आक्रमण गरी घाइते बनाएर आतंक मच्चाएकाले समिति नै गठन गरिएको गाउँपालिकाले जनाएको छ । देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको आचार्यले जानकारी दिए ।

सडक डिभिजन कार्यालय देवघाटका प्रतिनिधि कृष्णप्रसाद भट्टराई, देवघाट क्षेत्र विकास समितिका दिनानाथ न्यौपाने समिति सदस्य छन् । देवघाट गाउँपालिकाको खास गरी वडा नम्बर ५ का बासिन्दाले बाँदरको समस्या बढेको गुनासो गरेपछि कार्यपालिकाको बैठकले समिति गठन गरी ३० दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न भनेको छ ।

समितिलाई अध्ययन अनुसार सम्बन्धित सरोकारवाला र विषयविज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्ने अधिकारसमेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीय बासिन्दाका साथसाथै देवघाटधाममा दर्शन गर्न आउने भक्तजनको सामान खोस्न जाने, रोक्न खोजे आक्रमण गर्न खोज्ने जस्ता समस्या भएकाले समाधान गर्न पालिकाका तर्फबाट सर्वपक्षीय समिति गठन गरिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । उनले भने, ‘बाँदरले धेरै सन्तान जन्माउने र मार्नका लागि कानुनले नदिएकाले संख्या अत्यधिक हुँदा समस्या परेको छ ।’

गोरखापत्र दैनिक

ताजा समाचार

सम्बन्धित समाचार