Thursday, September 19, 2024

सामुद्रिक पाहुना चराले नेपालमा कोरले बच्चा

३० भदौ, कपिलवस्तु
सामुद्रिक चरा ठिमाहा फ्यालफ्यालेले कपिलवस्तुस्थित पछी आरक्ष जगदीशपुर तालमा बचेरा कोरलेको छ । आरक्षको मध्य भागमा रहेको ढिस्कोको उत्तरपूर्वी कुनाका दुई ठाउँमा ठिमाहा फ्यालफ्यालेका ५ वटा बचेराका तस्बिर जनकपुरका डा. एसके सिंहले खिचेका छन् ।

सिंहले एउटा गुडमा ३ र अर्कामा २ वटा बचेराका तस्बिर खिचेका छन् । ‘डुंगामा जाँदै गर्दा ठिमाहा फ्यालफ्यालेले टाउकामा ठुङला जस्तो ग-यो ,’ उनले सुनाए, ‘सतर्कता अपनाउँदै अघि हेर्दा दुईवटा गुडमा बचेरा देखियो ।’ ठिमाहा फ्यालफ्यालेको बचेराका तस्बिर खिचेर रेकर्ड बन्दा खुसी लागेको सिंहले बताए ।

पेसाले चिकित्सक उनी सोखले वाइल्डलाइफ फोटोग्राफीमा लागेको बताउँछन् । जगदीशपुर ताल क्षेत्रमा ६०/७० वटा ठिमाहा फ्यालफ्याले उडेको र बसेको आफूले देखेको नेचर गाई अनिल चौधरीले बताए । उनका अनुसार त्यहाँ कम्तीमा १५ वटा गुँड छन् ।

युरोप, एसिया, अफ्रिका र अस्ट्रेलियाका समुद्र, नदी र सिमसार क्षेत्रमा पाइने चरा ठिमाहा फ्यालफ्यालेले नेपालमा पहिलो पटक बच्चा कोरलेको वरिष्ठ चराविद् हेमसागर बरालले बताए । ‘मुलुकका लागि राम्रो हो, यसले पर्यापर्यटनप्रति आकर्षण थपेको छ,’ उनले भने । गत वर्ष भदौ दोस्रो साता जगदीशपुरमा फोटोग्राफर सुगम ताम्राकार र पेम्बा शेर्पा तथा कोशी पुलछेउमा निसान बरालले ठिमाहा फ्यालफ्यालेको गुँड फेला पारेका थिए ।

तर ठिमाहा फ्यालफ्याले ओथारो बसेको समाचार बाहिरिएपछि जगदीशपुरमा फोटो खिच्नेको भीड बढेपछि चरा ओथारो छाडेर भागेका थिए ।कोशीमा भने बरालले ‘नेस्टिङ फलोअप’ गर्न पाएनन् । यस वर्ष भने सामुद्रिक चराले राम्ररी बचेरा हुर्काओस् भनेर तालभित्र जान कडाइ गरिएको कपिलवस्तु नगरपालिका–९ का वडाध्यक्ष दीपकबहादुर गुरुङले बताए ।

अनियमित हिउँदे आगन्तुक तथा बसन्त ऋतुमा बटुवा प्रजातिका रूपमा ठिमाहा फ्यालफ्याले चरा आउने गर्छ । नेपालमा कहाँबाट यो चरा आउँछ भन्ने अनुसन्धान नभए पनि अरब सागर आसपासबाट आउने अनुमान गर्न सकिने चराविद्हरू बताउँछन् । अन्य देशमा बढी देखिने यो चरा नेपालमा विरलै देखिन्छ । निकै चञ्चले यो चराको तस्बिर गुँड लगाउने बेलाबाहेक अन्य समयमा खिच्न गाह्रो हुन्छ ।

यो चरा पानीमा पातमाथि झारपात र झिँजाझिँझी राखेर ओथारो बस्छ । फ्यालफ्यालेका ८ प्रजाति हुन्छन् । ठिमाहा फ्यालफ्यालेले किरा फट्यांग्रा खान्छ । साउनमा आथारो बस्ने यो चराले तीन सातामा बच्चा कोरल्ने र दुई/तीन महिनामा हुर्काएर लाने गर्छ । सन् १९८२ मा कोशी ब्यारेजमा ४ सयभन्दा बढीको संख्यामा यो चरा देखिएको थियो । ४१ वर्षपछि गत वर्ष करिब एक सयको संख्यामा यो चरा पहिलो पटक जगदीशपुरमा देखिएको चराविद् हठन चौधरीले बताए ।

जलवायु परिवर्तनको असरले समुद्रमा तापक्रम वृद्धि हुँदा यस्ता चराले बचेरा हुर्काउन तालतलैया र सिमसार क्षेत्र रोजेको हुन सक्ने उनले बताए । ‘पछी आरक्ष भएपछि जगदीशपुर तालको जैविक विविधता संरक्षण भएको छ । त्यसैले नयाँ चराले गुँड लगाउने र ओथारो बसेर बचेरा हुर्काउने रोजाइमा परेको छ,’ चराविद् कृष्णप्रसाद भुसालले भने ।

जगदीशपुर तालले नेपालमा सबैभन्दा बढी पानीचरालाई आश्रय दिँदै आएको छ । आईयूसीएन नेपालले गरेको एक अध्ययनअनुसार यस क्षेत्रमा ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरिसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् ।

ताल क्षेत्रमा १ सय ६७ प्रजातिका चरा पाइन्छन्, त्यसमध्ये ९२ प्रजातिका रैथाने, ९ प्रजातिका गर्मीयाममा आउने, ६४ प्रजातिका चरा जाडोयाममा आउने र ३ प्रजातिका चरा आंशिक प्रवासी रहेको अध्ययनले देखाएको छ । यहाँ विश्वमै दुर्लभवन्य जन्तु पानी बिरालो र ८ प्रजातिका चरा पनि पाइन्छन् ।

कान्तिपुर दैनिक

ताजा समाचार

सम्बन्धित समाचार