Wednesday, September 18, 2024

अविरल वर्षाले सुदूरपश्चिमको जनजिवन अस्तव्यस्त

२८ भदौ, काठमाडौं
दुई दिनदेखिको अविरल वर्षाले कर्णाली र कर्णालीका सहायक नदीमा जलसतह खतराको तह पार गरेको छ । कर्णाली नदीमा जलसतहले खतराको तह पार गरेर १०.९० मिटर पुगेको छ ।

कर्णाली नदीमा पानीको बहावले १०.८० मिटर नाघेपछि खतराको तह मानिने चिसापानी जलमापन केन्द्रका गेज रिडर पार्वती गुरुङले जानकारी दिइन् । नदीमा जल सतह बढेपछि कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका विभिन्न क्षेत्रमा डुवानमा परेका छन् । कर्णालीका सहायक नदीहरू मोहना, खुटिया, कान्द्रा, घुरहा, कटैनी, पथरैया नदीमा जलसतह बढिरहेको र खतरा आसपास पुग्ने चरणमा छ ।

बर्दियाको राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, मधुवन नगरपालिकामा कर्णालीको बाढीले प्रभाव पार्ने भएकाले बर्दिया, कैलाली र कञ्चनपुरका विभिन्न पालिकासहित तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान सूचना सम्प्रेषण गरिएको छ । बाढीको जोखिममा परेपछि कैलालीका १ सय ३९ जनालाई सुरक्षित स्थानमा सारिएको छ । जानकी गाउँपालिका–४ स्थित १५ परिवारका ३४ जनालाई सुरक्षित घरमा सारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जानकी गाउँपालिका–७ का १७ परिवारका ९४ जना र जोशीपुर गाउँपालिका–३ भितरियाका २ परिवारका ११ जनालाई जनहित सामुदायिक वनको भवनमा सारिएको छ ।

गत बुधबार रातिदेखि (२६ भदौदेखि)को अविरल वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । निरन्तरको वर्षाले सुदूरपश्चिमका पहाडी भेग जोड्ने मुख्य मार्गका विभिन्न ठाउँमा पहिलो खसेपछि यातायात अवरुद्ध छ । प्रहरीका अनुसार सुदूरपश्चिमका पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध छ । गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा पहिराले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

त्यसैगरी भीमदत्त राजमार्गको अमरगढी नगरपालिका–५ र सोही पालिकाको वडा नम्बर ६ मा पर्ने भालुमारेमा पनि पहिरो खसेको छ । डडेल्धुरा–डोटी खण्डको केआई सिंह राजमार्गको गन्यापधुरा गाउँपालिका–१ रडुवामा पनि पहिरो खसेपछि सडक अवरुद्ध छ । डडेल्धुराको आलिताल गाउँपालिका–८ सुनखोलामा पहिरो खसेपछि बुडर–जोगबूढा सडकखण्ड बन्द छ । वर्षा अझै नरोकिएकाले पहिरो खस्ने जोखिम जारी रहेकाले प्रशासन र सुरक्षा निकायले सतर्कता अपनाउन सूचना सम्प्रेषण गरेका छन् ।

डोटीमा पहिरोले पुरिएर श्रीमान–श्रीमती घाइते भएका छन् । बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीय भागरथी घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविरल वर्षासँगै घरमाथिबाट पहिरो खस्दा सुतेकै ठाउँमा उनीहरू पहिरोमा पुरिएका हुन् । प्रहरीका अनुसार च्यापिएको अवस्थामा दुवै जनालाई उद्धार गरिएको र भागरथीको अवस्था केही गम्भीर छ ।

डोटीमै केआईसिंह गाउँपालिका–४ कार्की गाउँकी ८ वर्षीया निर्मला चन्द स्थानीय गन्ने खोलामा बगेर बेपत्ता छिन् । स्थानीय वाइल बजारमा दुध पु-याउन जाने क्रममा आज विहान (शुक्रबार बिहान) उनलाई खोलाले बगाएको थियो । उनको खोजी जारी छ ।

ताजा समाचार

सम्बन्धित समाचार