Friday, November 29, 2024

कुलो पानीमै तीन पुस्ता

कैलाली – सेताम्य कपाल । टाउकोमा ढाका टोपी । ६८ वर्षको भ¥याङ उक्लिँदै छन् । मुजा पर्न थालेका गालामा पनि चमक उस्तै, ‘नशा’ फुलिएका ‘हात’ मा त्यो ‘बैंशालु’ तागत अझैँ झल्किन्छ । ती उनै हात हुन्, जसले जवानीका बेला कुलो (नहर) मा ‘कोदालो फरुवा’ चलाइसकेका छन् ।

फराकिलो अनि चिटिक्क परेको आँगनका डिलभरि लहरै घर छन्, लगभग एउटै प्रकारका । हामी गन्दै थियौँ, ती घर कति छन् त्यहाँ ? अनि एउटा घरबाट फुत्त निस्किएर ‘नमस्कार’ भन्दै हामीलाई स्वागत गर्न आइपुगे, उनी ।

हामी लहरै बनेका मध्ये सातौं घरमा अडिएका थियौं । ती सबै घर उनका भाइ, छोराका हुन्, जो ‘घर फाटे’ (अलग भए) पछि त्यहीँ वरपर नयाँ घर बनाएर बसे । घर छुट्टिए, चुल्हा चौको छुट्टिए तर, छुट्टिएन उनीहरूको मन । अनि एउटै आँगनमा बेरिएर बसे । ‘थारू’ समुदायभित्र सदियौँदेखि नटुटेको ‘एकता’को एउटा यस्तै धर्साे अझै पनि कहीँकतै देख्न पाइन्छ ।

घरको बलेन्द्रीमुनि बिछ्याइएको ‘खटिया’ (चारपाइ) मा बसेर उनी गफिन थाले । उनी ‘कुलोपानी’ सँग गाँसिएका आफ्नान कथा–व्यथा सनाउदै जाँदा कुलो (नहर) का स्मृतिमा पुग्थे । कुलो खन्ने, सफाइ गर्ने अनि बिग्रेममा ममर्त गर्ने काममा तीन पुस्ता बितिसकेको छ, कैलालीको जानकी गाउँपालिका–५ का रवीलाल महतो (थारु) को ।

उनका बाजेले कुलो बनाए । त्यही कुलोपानीको व्यवस्थापन गर्दा गदै बिते । त्यसपछि उनका बाबु रामदयाल महतोले त्यसको बिँडो थामे । २०२४ मा रबीलाललाई त्यो ‘कुलोपानी’ को जिम्मा लगाएर बाबु रामदयाल पनि बिते । र, अहिलेसम्म पनि त्यसको हेरचाह गरिरहेका छन्, रवीलालले ।

रवीलाललाई लाग्न थालेको छ, ‘अब मेरो जीवन पनि त्यही ‘कुलोपानी’ मा बिसर्जन हुनेछ ।’ जीवनको लक्ष्यपनि कुलो र पानी भन्दा बाहिर गएनन्, उनका सपना त्यो भन्दा पर बगेनन् । अनि जिन्दगीको गन्तब्य त्यो भन्दा टाढा जाँदै गएन । र, अब उनको अन्तिम चाहना पनि यही हो कि, त्यही माटो, त्यही कुलो र त्यही पानी जीवनलिला समाहित होस् ।

पानीमै मान्छेको जीवन छ, चराचुरुङ्गी, जीवजन्तु पनि पानीले नै बाँचिरहेका छन् । बिहान उठेदेखि राति नसुत्दासम्म रवीलालको दिनचर्या त्यही कुलोपानीमा बित्छ । उनी भन्छन्, ‘म कुलोपानीभन्दा बाहिर जानै सकिनँ ।’

उनी कुलरिया कुलो र त्यसको पानी भन्दा बाहिर जानै सक्दैनन्, मनले नै मान्दैन । त्यसमाथि कुलोपानीमा आश्रित आम समुदाय नै उनको नेतृत्वमा हिँडिरहेका छन् ।

उनी २०२४ सालदेखि निरन्तर ‘कुलरिया कुलो सिंचाइ उपभोक्ता समिति’ को अध्यक्ष छन् । १७ वर्षे त्यो किशोरको जिन्दगी अहिले त्यही कुलोभित्रैै बुढ्यौलीले पछ्याइसकेको छ । एउटै व्यक्ति एउटै कुलोको अध्यक्ष भएर कुलोपानीमै आधा शताब्दी बिताउनु चानचुने कुरो हैन । र, पनि उनी थाकेका छैनन्, आत्तिएका छैनन् । जनताको सेवा गर्ने त्यो अभिप्सा अझैँ ओइलाएको छैन उनीभित्र । ‘बाँच्दासम्म त जनता नै छोड्दैनन्, अझैँ तीन वर्ष समय छ अबको समितिको’ उनी भन्छन् ‘अब यहीँ कुलामै मरिन्छ होला, मैले छोड्न चाहे पनि जनता छोड्दैनन् ।’ यो उनको पुस्तैनी ‘शासन’ भने होइन । न कुनै खानदानी नियम नै हो । ‘छोड्छु’ भन्दा पनि आम उपभोक्ता मान्दैनन् र, उनको पुस्ता बाध्य भएको हो नेतृत्व लिन ।

१९७२ सालमा उनका बाजेले जन्माएको ‘कुलरिया’ कुलो र, त्यसमा बग्ने पानी अहिले ५ हजार २ सय ३१ हेक्टर जमिनको बालीनालीको ‘प्राण’ बनेको छ । कुनै बेला परम्परागत कुला थिए, ‘रानी’, ‘जमरा’ र, ‘कुलरिया’ । अहिले सरकारले सबैलाई एकीकृत गरेर ‘रानी–जमरा–कुलरिया’ सिंचाइ आयोजना बनाएको छ । राष्ट्रिय गौरवकै आयोजना हो यो । अनि कुलरिया त्यसैको एउटा भाग । सिंचाइ आयोजना सुरु भएपनि यी कुला अहिले पनि परम्परागत शैलीमै चल्दै आएका छन् । उपभोक्ता आफैं कुलोपानीका लागि जुट्छन् । कैयौँ रात कुलोको मुहान (बाँध) चिसापानीको बगरमै रात बिताउनुपर्छ । बाँध पनि जैविक छन् उनीहरूका लागि, परम्परागत शैलीका ।

आयोजनाले ६० प्रतिशत रकम दिने हो, नहर निर्माणका लागि तर जनतासँग पैसा हुँदैन । त्यसैले ४० प्रतिशत उनीहरु श्रमदान नै गर्छन् । ‘हामीसँग त पैसा हुँदैन नि हाम्रा जनता त गरीब छन्, बरू जनता ५ दिन ५ रातसम्म त्यही कुलोमा सुत्छन् तर, काम त गरेरै छोड्छन्,’ उनी भन्छन्, ‘पहिला पनि हामी यसरी नै कुलामा पानी बगाउँथ्यौँ, आज पनि उस्तै हो ।’

पहिलादेखि नै परम्परा हो, गाउँमा बडघर (भल्मन्सा) को निर्देशनमा चिराकी (कटवालझै काम गर्ने व्यक्ति) हाँक (डाक्ने काम ) हाल्थे । र, स्थानीय जुट्थे अनि कुलो सोहर्न जान्थे । अहिले त्यसको लागि ‘हल्कारा’ को व्यवस्था गरिएको छ । चलन भने उस्तै हो । बेला बेलामा कुलो पानीको ‘स्याहार’ गर्न घरघरबाटै जानुपर्छ नत्र जरिवाना पनि लाग्छ । जरिवानाबाट जम्मा भएको पैसा समितिको काममा भैपरि आउँदा खर्च हुन्छ ।

१७ वर्षको उमेरदेखि नेतृत्व लिएका रवीलालले जीवनभर सेवा गरे, कुलो पानीमार्फत । केही वर्षअघिदेखि मात्रै उनले वार्षिक ८ हजार रुपैयाँ पाउन थालेका छन् । ‘त्यो पनि तलव हैन है’ सर्टको गोजाबाट एउटा मोबाइलको खोस्टो देखाउँदै उनले भने ‘त्यो त, यही मोबाइलमा रिचार्ज हाल्नका लागि, उनै जनताको हालखबर बुझ्नका लागि ।’

कसको खेतबारीमा पानी पुगेन ? कहाँ कति पानी दिने, कहाँ कहिले दिने कसरी पानी बाँडफाँट गर्ने ? यी सबैको हेक्का राख्छन उनी ।

‘यसपछि के हुन्छ त ?’ हाम्रो प्रश्न भुइँमा खस्न नपाउँदै उनले सटिक जवाफ दिए, ‘म मरेपछि छोराहरू गर्छन् कि गर्दैनन् थाहा छैन तर, म बाँचुन्जेल यही कुलोपानीमा लागेर जनताको सेवा गरिरहनेछु ।’

सिंचाइको कुलोप्रतिको लगाव देख्दा लाग्छ रवीलालको शरीरमा रगत होइन, पानी बगिरहेछ, कुलरिया कुलोको । उनको दिमागमा त्यहीँ कुलोको एउटा सुन्दर, बेमिशाल ‘स्केच’ छापिएको छ, अमीट बनेर । जो कहिलै मेटिने छैन उनको स्मृतिबाट ।

‘सायद यसैमा त मर्छु होला, यही माटोमा मिल्ने जीवन हो’ क्यामेरा र रेकर्डरका स्वीच अफ हुँदै थिए । आँखाका डिलसम्मै निस्किएका आँशु चस्माको सिसाभित्र प्रस्टै थियो, लाग्यो, त्यही कुलोको पानी पीडा बनेर रसाइरहेको छ, अनि गला अवरुद्ध भइसकेको थियो ।

तस्बिर : दीपेन्द्र शाही

ताजा समाचार

सम्बन्धित समाचार