Wednesday, September 18, 2024

मेलम्ची भ्रष्टाचार मुद्दामा ४ जना दोषी ठहर

२४ भदौ, काठमाडौं
मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा ४ जना दोषी ठहरिएका छन् । विशेष अदालतले सोमबार (२४ भदौमा) १५ जना आरोपीमध्ये ११ जनालाई सफाइ दिँदै पूर्व सचिव गजेन्द्र ठाकुर लगायतलाई सजाय तोकेको हो ।

तत्कालीन सचिव ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा आयोजनाका परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर भएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत वर्षको ६ फागुनमा मेलम्ची आयोजनामा भ्रष्टाचारको आरोप लगाउँदै तीन पूर्वसचिव सहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले परामर्शदाता र निर्माण कम्पनीलाई पनि मुद्दामा प्रतिवादी बनाएको थियो । ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ हजार ७५ पैसा बिगो मागेको छ । त्यस्तै देवकोटा र शर्मासँग २ करोड ९५ लाख ६५ हजार ६ सय ३ रूपैयाँ बिगो माग गरेको छ । त्यसैगरी अदालतले इप्टिसा र बेट्स (बीइटीएस) सँग ६ करोड २१ लाख ९३ हजार ५ सय ९६ रूपैयाँ बिगो माग गरेको छ ।

मेलम्ची आयोजनाको भ्रष्टाचार मुद्दामा कुल ८९ करोड ८ लाख रूपैयाँ राज्यकोषमा नोक्सानी भएको ठहरसहित अख्तियारले मुद्दा दायर गरेको थियो । इटालियन निर्माण कम्पनी सीएमसी भ्रष्टाचारको मतियारमा दोषी ठहर भएको छ । अदालतले उनीहरूमाथि सजाय र जरिवानाका लागि अर्को पेशी तोक्नु भनी आदेश दिएको छ । समितिका तत्कालीन बोर्ड अध्यक्षहरू डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र मुकुन्द प्रसाद पौडेलले सफाइ पाएका छन् ।

खानेपानी मन्त्रालयका सचिव मेलम्ची खानेपानी विकास समिति बोर्डको पदेन अध्यक्ष हुने व्यवस्था छ । उनीहरूमाथि ६ करोड ९७ लाख रूपैयाँ बिगो मागदाबी गरिएको थियो । तत्कालिन सचिव उपाध्यायविरुद्ध ४ करोड ११ लाख रूपैयाँ बिगो मागदावी थियो । काठमाडौं महानगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सफाइ पाएका छन् । मेलम्ची बोर्ड सदस्य समेत उनी अध्यागमन विभागका महानिर्देशक रहँदा बेला मुद्दा दर्ता भएपछि निलम्बनमा परेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार