Friday, October 18, 2024

सात वर्षदेखि खानेपानी आयोजना अलपत्र

२३ भदौ, खोटाङ
सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका ४ हजार ८ सय ९७ उपभोक्तालाई दूधकोशीको पानी तानेर घरघरमा वितरण गर्ने उद्देश्यले ७ वर्षअघि सुरु भएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम अलपत्र छ ।

सरकारको ९६ करोड ४५ लाख ४ हजार १ सय ३८ रूपैयाँको लागतमा सम्पन्न गर्नेगरी २०७४ सालदेखि निर्माण सुरु भएको आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र परेको हो । आयोजनाको एक नम्बर ‘प्याकेज’अन्तर्गत वडा नम्बर ८ सल्लेको महादेवबेसीबाट वडा नम्बर ७ महादेवस्थानस्थित काभ्रेडाँडा र दुई नम्बर प्याकेजअन्तर्गत सोही नगरपालिकाको वडा नम्बर १ बाहुनीडाँडाको कदुवास्थित लिलिमाबेँसीबाट भुम्जुडाँडामा आयोजना निर्माण भइरहेको छ ।

लिफ्टिङ प्रविधिबाट पानी तान्न दिवा–महादेव–खिम्ती निर्माण कम्पनीले २०७६ साल मङ्सिरमा सक्नेगरी २०७४ असार २१ मा सम्झौता भएको थियो । दुवै प्याकेजको काममा ठेकेदार कम्पनीले पटकपटक म्याद थपिए पनि काम नगरेपछि अलपत्र परेको हो ।

खानेपानी आयोजनाको काममा ठेकेदार कम्पनीको हेलचेक्र्याइँले स्थानीयले खानेपानी प्राप्तिमा दुःख पाउनुका साथै राज्यले ठूलो आर्थिकभार ब्यहोर्नुपरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए । ‘ठेकेदार कम्पनीले चारपटक म्याद थप गराइसकेको छ । ठेकेदारको हेलचेक्र्याइँका कारण दुई महिनादेखि काम ठप्प छ,’ उनले भने, ‘यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’

महादेवबेसीबाट काभ्रेडाँडामा निकालिएको पानी नगरका विभिन्न वडामा वितरण गर्न ल्याइएको पाइपलाइनको काम पनि अलपत्र छ । यसमध्ये एक नम्बर ‘प्याकेज’को ‘मेनलाइन’को कामअन्तर्गत पानी तान्ने छवटा पम्पमध्ये दुईवटा मात्र जडान गरिएको र अन्य चारवटा जडान गर्न बाँकी रहेको पाइएको छ । आयोजनाअन्तर्गत दुई नम्बर प्याकेजको मेनलाइनको काम भने सकिएको तर, शाखा लाइनको काम बाँकी छ ।

उक्त आयोजनाअन्तर्गत करिब एक सय परिवारलाई पानी वितरण गरिसकेको र तीन सय परिवारलाई पानी वितरण गर्न बाँकी छ । दुवै ‘प्याकेज’को काममा ८५ प्रतिशत आर्थिक प्रगति भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जनाएको छ । आयोजनाका अनुसार शाखा लाइन विस्तारको ठेक्का पाएका निर्माण कम्पनीले पनि काम पूरा गरेका छैनन् ।

लिलिमाबेँसीबाट भुम्जुडाँडासम्म निकालिएको पानी वडा नं १, २, ३ का दुई हजार ४०९ घरपरिवारलाई वितरण गर्ने ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियो । उक्त कम्पनीले पनि कदुवा क्षेत्रमा पानी वितरण गर्न सकेको छैन । भुम्जुडाँडामा निकालेर वितरण गरिएको पानी तीन महिनादेखि आउन छाडेको वडा नं २ डिकुवाका उपभोक्ता सुदीप अधिकारीले बताए ।

लामा कन्स्ट्रक्सनले ३७ करोड ९३ लाखको लागतमा २०७७ साल साउन १ गते आयोजना पूरा गर्नेगरी २०७५ साल साउन १ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले ४ लाख लिटर क्षमताको तीनवटा ट्यांङ्की, तीन लाख लिटरको एउटा, एक लाख लिटरका पाँचवटा ट्यांङ्की र चार किलोमिटर पाइप लाइन विस्तार गर्ने सम्झौतामा भएको थियो ।

यस्तै, महादेवबेँसीबाट काभ्रेडाँडामा निकालिएको पानी वडा नं ५, ६ र ७ का दुई हजार चार सय ८८ घरपरिवारलाई वितरण गर्ने कामको ठेक्का रमण–सगरमाथाले लिएको थियो । २६ करोड ७५ लाख ५१ हजारको लागतमा २०७७ साल साउन १ गते काम सक्नेगरी २०७५ साल साउन १ गते सम्झौता गरेको थियो । आयोजनासँग गरिएको सम्झौताअनुसार ७३ वटा ट्यांङ्की डिसी/डिपिटी ७३ वटा निर्माण गर्नुपर्ने थियो ।

निर्माण कम्पनीले अहिले आयोजना अलपत्र परेको स्थानीय बासिन्दाले बताएका छन् । पम्पिङ खानेपानी आयोजनाको काम छाडेर ठेकेदार निर्माणस्थलबाट हिँडेपछि स्थानीय उपभोक्ता निराश भएका छन् । आयोजनाले ठेकेदारलाई भुक्तानी दिन नसक्दा काम रोकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले जानकारी दिए ।

आयोजनाका लागि थप बजेटको व्यवस्था नहुँदा ठेकेदार कम्पनीलाई भुक्तानी दिन नसकिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख विपुलकुमारलाल दासले जानकारी दिए । ‘अहिले वर्षाकाल भएकाले काम रोकिएको छ,’ उनले भने, ‘दसैँअघि मेनलाइनको काम सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीसँग समन्वय भइरहेको छ ।’

रासस

ताजा समाचार

सम्बन्धित समाचार