Tuesday, September 17, 2024

सिसीटीभीबाट ल्याण्डफिल साइटको निगरानी

२० भदौ, काठमाडौं
उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै आएको सेनेटरी ल्याण्डफिल साइटको निगरानी सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाले कार्यालयबाटै (काठमाडौं प्लाजाबाट) ल्याण्डफिलको निगरानी थालेको हो । संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सिसीटीभी क्यामरा जडान गरिएको महानगरले जनाएको छ ।

काठमाडौं महानगरसहित फोहर व्यवस्थापन हुने गरेको ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमाना बञ्चरेडाँडामा छ । साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरिएको महानगरले जनाएको छ ।

क्यामराबाट प्राप्त दृश्यहरू प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको कार्यकक्षबाट निगरानी हुनेछ । स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्याण्डफिल साइटमा अत्याधुनिक सिसीटीभी क्यामरा जडान गरिएको परियारले बताए । यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ ।

साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा बुथ देखिनेगरी क्यामरा राखिएका छन् । वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राई भन्छिन्, ‘९ वटा क्यामराका दृश्यबाट साइटको निगरानी हुन्छ ।’ ल्याण्डफिल साइटमा जडान गरिएका क्यामरा अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन (एएनपीआर) क्यामरा हुन् ।

महानगरका सूचना प्रविधि विभाग प्रमुख अनिरुद्र नेपाल भन्छन्, ‘यसबाट भिडियोको आवाज पनि सुन्न सकिन्छ । यसले डिजिटल मात्र होइन, हातैले लेखेका नम्बर प्लेट पनि पढ्न सक्छ । नेपाली अक्षरबाट लेखिएको नम्बर प्लेट पनि पढ्न र रेकर्ड राख्न सक्छ ।’

ताजा समाचार

सम्बन्धित समाचार