Tuesday, September 17, 2024

राजमार्गका संरचना वन्यजन्तुमैत्री हुनुपर्ने माग

१९ भदौ, बाँके
बाँके र बर्दियाका वन तथा वन्यजन्तु संरक्षणकर्मी र जनप्रतिनिधिले राजमार्गका संरचना वन्यजन्तुमैत्री हुनुपर्नेमा जोड दिएका छन् । वन्यजन्तु, वातावरण र जलवायु अनुकुलतालाई आत्मसाथ नगरी गरिएको पूर्वाधार विकास दिगो नहुने उनीहरूको ठहर छ ।

पूर्व–पश्चिम राजमार्ग, हुलाकी सडकलगायतका संरचना निर्माण गर्दा सबैपक्षलाई ध्यान दिनुपर्ने सरोकारवालाहरूको माग छ । बाँकेको कोहलपुरमा मंगलबार (१८ भदौमा) आयोजित पूर्वाधार विकासमा प्राकृतिक स्रोत संरक्षण मूलप्रवाहीकरण सम्बन्धी कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले वन्यजन्तुको संरक्षण गर्नु मानवको कर्तव्य भएको उल्लेख गर्दै वन्यजन्तुमैत्री पूर्वाधार प्रवद्र्धनमा जोड दिए ।

उनले भने, ‘हामी सबै एक अर्काको परिपूरक हौं, यो कुरालाई अंगालेर जान सके समस्या हुँदैन ।’ आफू अनुकूल काम गर्दा अहिले समस्या देखिएको उल्लेख गर्दै मन्त्री कुर्मीले सबैको अस्तित्व स्वीकारेर आगामी दिनमा विकास र वातावरण संरक्षणका योजना अगाडि बढाएमात्रै दिगो विकास सम्भव हुने उल्लेख गरे ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले वनक्षेत्रमा अहिले विकासका नाममा निर्माण भएका सडकले वन्यजन्तु समस्यामा परेको बताए । एउटै गाउँ पुग्न अहिले ५ वटा बाटो बनाउने अहिलेको कार्यशैलीले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको उनको दाबी छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख मनोज साहले दिगो विकासका लागि नेपालमा वन्यजन्तुमैत्री पूर्वाधार प्रवद्र्धनमा जोड दिए ।

‘वन्यजन्तु संरक्षणकर्मी विकास विरोधी होइनन्, सडकलगायतका पूर्वाधार निर्माण गर्दा वन्यजन्तुमैत्री हुनुपर्छ’, उनले भने, ‘जथाभावी सडक संरचना निर्माण गर्दा वन्यजन्तु निर्वाध रूपमा आवतजावत गर्न पाउँदैनन्, त्यसैले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जान्छ ।’ उनले राजमार्ग मुनी र सडक माथिबाट वन्यजन्तु निर्वाध रूपमा आवतजावत गर्न सक्ने संरचना निर्माण गर्न जरूरी भएकोमा जोड दिए ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा. अशोककुमार रामले निकुञ्जमात्रै नभएर वनक्षेत्रमा बन्ने संरचनामा पनि वन्यजन्तु सहज रूपमा आवतजावत गर्ने व्यवस्था हुनुपर्ने बताए । जथाभावी पूर्वाधार निर्माणले सामाजिक, आर्थिक र वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सबैपक्षलाई ध्यान दिएर मात्रै संरचना बनाउन सके मात्रै दिगो विकास हुने उनले उल्लेख गरे ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार