Thursday, September 19, 2024

शिवपुरीमा चरा जोगाउने चुनौती

१६ भदौ, काठमाडौं
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा चराको प्रजाति बढेसँगै संरक्षणको चुनौती बढेको छ । भर्खरै सार्वजनिक भएको चराको सूची अनुसार शिवपुरीमा ३ सय ९६ प्रजातिको चरा पाइएको छ ।

पछिल्लो समय यहाँ झन्डै ८० प्रजातिका नयाँ चरा थपिएका छन् । सन् २०१५ मा नेपाल पन्छी संरक्षण संघले निकालेको सूची अनुसार शिवपुरी क्षेत्रमा ३ सय १८ प्रजातिका चरा थियो । बढेका चरा कसरी जोगाउने भन्ने चिन्ता संरक्षणकर्मीमा थपिएको छ ।

निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालको नेतृत्वमा वरिष्ठ चराविद् डा. हेमसागर बराल, चरा संरक्षणकर्मी मनशान्त घिमिरे, सञ्जीव आचार्य र हठन चौधरीले तयार गरेको नयाँ सूची अनुसार शिवपुरीमा पाइने चराका प्रजाति ३ सय ९६ छन् । पूर्वप्रमुख संरक्षण अधिकृत पौड्यालका अनुसार सन् २०१६पछि सन् २०२१ र २०२२ तथा अन्य समयमा भएका गणना र सर्भेक्षणका क्रममा भेटिएका नयाँ प्रजातिसमेत जोड्दै नयाँ सूची प्रकाशन गरिएको हो ।

उनका अनुसार यस वर्ष भेटिएको रातो रङको सुन्दर भिनासियस रोजपिन्च नामको नयाँ चरासमेत सूचीमा समावेश गरिएको छ । त्यस्तै नेपालमा मात्र पाइने काँडे भ्याकुरसहित २०२१ र २०२२ मा नयाँ फेला परेको कालो चिल प्रजातिको लाटोकोसेरोसहित गोल्डेन नेप्स फिन्च, स्लेन्डर बिल्ड स्किमिटर ब्याबलर, ग्रे हुडेड वार्बरहोरी थ्रोटेड वार्बलरसहितका चरा शिवपुरीका नयाँ आकर्षण हुन् ।

अध्ययन अनुसार सन् २०२१ र २०२२ मा गरिएको सर्भेका क्रममा शिवपुरीमा २ सय ३७ प्रजातिका चरा भेटिएकोमा १६ वटा भने रोमाञ्चकता दिने नयाँ खालका प्रजातिका मानिएका थिए । पौड्यालले भने, ‘काठमाडौँका घना मानव बस्तीबिचमा यसरी चरा बढ्नु भनेको वातावरणको राम्रो सूचक हो तर जोगाउने चुनौती उच्च छ ।’ चराहरू बचाउन काठमाडौँ महानगरका बासिन्दाले ध्यान दिनुपर्नेमा उनी जोड दिन्छन् । चरा बाँच्नु भनेको उपत्यकाको दीर्घ जीवनको सूचक हो भनेर बुझाउन जरुरी रहेको पौडेलले औँल्याए ।

विश्वमै खतराको सूचीमा रहेको ठुलो खैरो गिद्ध, इम्पेरियल गिद्ध र काश्मीर फ्लाइक्याचर चरा यहाँ पाइन्छ । लोपोन्मुख स्टेप्पे चील र पल्लास फिस चील, सङ्कटापन्न सेतो गिद्ध, पातलो–बिल गिद्ध र रातोटाउके गिद्ध पनि यहाँ पाइन्छ । साइटिसमा सूचीकृत रहेका ५५ प्रजातिका चरा यस निकुञ्जको अर्को महत्वपूर्ण पाटो हो । साइटिसमा सूचीकृत नेपालमा मात्र पाइने काँडे भ्याकुरको बास यहीँ छ ।

विसं २०५८ सालमा संरक्षणको उद्देश्यसहित स्थापना भएको यो निकुञ्ज मध्य नेपालमा रहेका चराको स्वर्ग मानिन्छ । घना वन, जलस्रोतको स्रोत र मानव बस्तीदेखि टाढा रहेको निकुञ्जमा चरा अवलोकन गर्नकै लागि विदेशी पर्यटक पुग्ने गर्छन् ।

गोरखापत्र दैनिक

ताजा समाचार

सम्बन्धित समाचार