Saturday, October 19, 2024

इलामले बनायो रेड पाण्डा संरक्षण क्षेत्र

२६ साउन, इलाम
दुर्लभ प्राणी हाब्रे (रेड पाण्डा) जोगाउन इलाममा संरक्षण क्षेत्र घोषणा गरिएको छ ।

इलाम नगरपालिकाले आफ्नो क्षेत्रमा पाइने रेड पाण्डाको वासस्थान जोगाउन र दुर्लभ जन्तुको संख्या सुधार गर्न ‘रेड पाण्डा संरक्षण क्षेत्र’ घोषणा गरेको हो । पुवामाइ सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको १ सय १६ हेक्टर क्षेत्र संरक्षण क्षेत्र घोषणा गरिएको छ ।

पालिकास्तरबाट जिवजन्तुका लागि संरक्षण क्षेत्र घोषणा गरिएको सम्भवत नेपालमा यो पहिलो अभ्यास हो । यो दुर्लभ जन्तुको अध्ययनका क्रममा पुवामाइ सामुदायिक वन र कालपोखरी थामडाँडा सामुदायिक वन क्षेत्रको १ सय १६ हेक्टर रेडपाण्डाको वासस्थान पहिचान भएको छ ।

रेड पाण्डा नेटवर्कसँगको सहकार्यमा स्थानीय संरक्षणकर्ता सो क्षेत्र जोगाउन जुटेका छन् । संरक्षित क्षेत्र घोषणा गर्न इलाम नगरपालिका–३ मा पर्ने सो क्षेत्रमा यही २४ साउनमा एक कार्यक्रम आयोजना गरियो । सो क्षेत्रमा रेडपाण्डा स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने वातावरण बनाउने र उनीहरूको प्राकृतिक प्रजनन केन्द्र विकास गर्ने लक्ष्य राखिएको छ ।

सो क्षेत्र इलामको सन्दकपुरसम्म फैलिएको छ । संरक्षण क्षेत्र घोषणा भएपछि अब स्थानीय समितिले सो स्थानमा रेड पाण्डालाई असर पर्ने कुनै पनि कार्य गर्न/गराउनबाट रोक लगाउनेछ ।

पाण्डा संरक्षण क्षेत्रलाई प्राथमिकतामा राखेर संरक्षण क्रियाकलाप अघि बढाउने डिभिजन वन कार्यालय अधिकृत दानबहादुर श्रेष्ठले बताए । ‘पालिकास्तरबाट संरक्षण क्षेत्र घोषणा गरिनु आफैंमा राम्रो कुरा हो,’ उनले भने, ‘रेड पाण्डा संरक्षणलाई सरकारले नै प्राथमिकतामा राखेको सन्दर्भमा संरक्षण क्षेत्रको यो आफैंमा नमुना र सराहनीय काम हो ।’

गत आर्थिक वर्ष नगरपालिकाले रेड पाण्डा नेटवर्कसँगको सहकार्यमा रेडपाण्डा संरक्षण समिति बनाएर संरक्षण कार्य थालेको थियो । ‘गत वर्ष समिति गठन गरेर सदस्यहरूलाई अभिमुखीकरण गर्दै सचेतना जागृत लगायतका काम गरेका थियौं,’ नगरपालिकाका प्रशासकीय अधिकृत गणेश खड्काले भने, ‘सोही वर्ष नगरपालिकाले पुवामझुवा सामुदायिक रेड पाण्डा संरक्षण तथा व्यवस्थापन कार्यविधि पारित गरेको थियो ।’

त्यसअघि २०७८ सालमै नगरपालिकाको स्थानीय वन ऐनले संरक्षण क्षेत्र स्थापनाको अधिकार दिएको थियो । यसअघि समिति गठन गरेर अभिमुखीकरणका काम भएकोमा यसपटक रेडपाण्डाको मुख्य आराहा मालिङ्गो र निगालोका बिरुवा वृक्षरोपण गरिने खड्काले बताए ।

कालपोखरी थामडाँडा सामुदायिक वन उपभोक्ता समिति पुवामाइ र कालपोखरी सामुदायिक वन क्षेत्र भारतीय सीमासँग जोडिएकाले यताका रेडपाण्डा उता जाने र उताका यता आउने गर्छन् । सामुदायिक वन क्षेत्र प्राकृतिक बिरुवाले ढाकिए पनि यहाँको मालिंगो र निगालोलाई हाब्रेले खाने गरेकाले यो वर्ष ती बिरुवा रोप्ने वन समितिको योजना छ ।

हाब्रेलाई जोगाउन थामडाँडा सामुदायिक वन समितिका २ जनाले हेरालु खटिएका छन् । संरक्षण क्षेत्र स्थापनामा रेडपाण्डा नेटवर्कले पनि सहयोग गरिहरहेको छ । स्थानीयलाई संलग्न नबनाई कुनै पनि संरक्षणको काम सफल नहुने भएकाले स्थानीयसँगको साझेदारीमा संरक्षणका अभ्यास हुँदै आएको नेटवर्कका राष्ट्रिय निर्देशक आङफुरि शेर्पाले बताए ।

स्थानीयसँगको साझेदारीमा यस्ता संरक्षण प्रयासलाई सहयोग, प्रोत्साहन र अपनत्व लिने काम भएको बताउँदै उनले भने, ‘इलाममा हामीले १५ वर्षदेखि गरेको कामको प्रतिफलको रुपमा हामीले यसलाई लिएको छौं ।’ संरक्षण क्षेत्रको प्रभावकारी व्यवस्थापन गर्दैै स्थानीयस्तरमा पर्यापर्यटन लगायत जीविकोपार्जनको ढोका खोल्नु आगामी दिनको चुनौती रहेको शेर्पाको ठहर छ ।

ताजा समाचार

सम्बन्धित समाचार