गोविन्द पोखरेल
२५ साउन, काठमाडौं
हरेक वर्षको साउन शुक्ल पञ्चमीमा हिन्दु धर्मालम्बीहरूले नागलाई पूज्ने गर्छन् । साउन शुक्ल पञ्चमीको दिन नाग पूजा मनाइन्छ । शुक्ल पक्ष भनेको चाही चन्द्रमानको एक महिनाको समयमा चन्द्रमा वृद्धि हुने समयलाई भनिन्छ । चन्द्रमान पात्रोले शुक्ल पक्षलाई धार्मिक रूपमा देवाताको दिन पनि भन्ने गरिन्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमीको दिन वर्षाका कारण हुने शीतलले बाहिर निस्कने धार्मिक मान्यता छ ।
घरको मूल ढोकामा नाग टाँस्दा धेरै शुभ हुने र सर्पले नटोक्ने, घरभित्र बिच्छी जस्ता जीवले नसताउने,आगो÷पानी, हावाहुरी, चट्याङको प्रकोपबाट बच्न सकिने विश्वास छ । यी जीवहरूलाई मार्न नहुने भन्ने धार्मिक मान्यता रही आएको छ । धार्मिक विश्वास र त्यसलाई विज्ञानसँग जोडेर सर्प संरक्षण गर्नुपर्छ भन्ने मान्यता राखेर बानेश्वरमा १० रूपैयाँको गोबर किनेर नाग मैले टाँसेको छु ।
नाग सर्प रिसाए भने पानी नपर्ने भन्ने धार्मिक विश्वास छ । त्यही भएर नाग पञ्चमीका दिन गाउँघरमा पानीका मुहान तथा ओसिलो ठाउँमा पूजा गर्ने गरिन्छ । नाग र पानीसँग धार्मिकदेखि अहिलेको युगमा पनि सम्बन्ध छन् ।
एक किम्बदन्ती अनुसार, गुरू गोरखनाथले १२ वर्षसम्म नागमाथि बसेर तपस्या गर्दा नाग रिसाएर पानी नपरेपछि गोरखनाथका गुरु मत्स्येन्द्रनाथसँग मानिसहरू गुहार माग्न पुगेका थिए । मत्स्येन्द्रनाथले नागलाई टेकेर तपस्या गरेका गोरखनाथ आफ्नो स्थानबाट हटेपछि मात्रै पानी पर्ने बताएका थिए । गोरखनाथ हटेपछि मात्रै पानी परेको भन्ने धार्मिक विश्वास रही आएको छ ।
त्यही भएर पानीका लागि नाग खुसी पार्न पूजा गर्ने भन्ने एकथरीको कथन छ । अर्कोथरी चाँही किसानले खेत खन्ने क्रममा नाग र उसको बच्चालाई मारेको र त्यसको बदलामा नागिनीले किसानको परिवारलाई डसेर मारेको तर किसानको छोरी घर बाहिर भएकाले बाँचेकी, पछि किसानको छोरीले नागिनीलाई आफूलाई नमार्न भन्दै खुसी पारिन् ।
प्रसन्न भएकी नागिनीले मृतक किसानकी छोरीलाई वर माग भन्दा आफ्नो परिवारलाई पुर्नजिवन माग गरेको र किसान परिवारले पुनर्जिवन पाएको उल्लेख छ । त्यस दिन साउन शुक्ल पञ्चमीको दिन भएकाले नाग पञ्चमी मनाउन थालिएको भन्ने छ ।
अर्को चाँहि, धार्मिक मान्यता अनुसार तक्षक नागले राजा परीक्षितलाई डसेर मारेपछि उनका छोरा जनमेजयले बदलाभावमा सर्प यज्ञ गरेर प्रजातिलाई नष्ट गर्न सर्पबलि दिए । सर्प जातीको रक्षाका लागि तक्षक नाग इन्द्रलोकमा पुगेर बली रोक्न अनुनय गरेपछि बोलि रोकिएको दिन नदिवर्धिनी पञ्चमी भएकाले सर्प प्रजातिको जोगिएको भन्ने कथन छ । सर्पको राजा नागको साउन शुक्ल पञ्चमीका दिन नागराजगसँग ब्राम्हाको संवाद भएकाले नाग पूजा गर्ने चलन चलेको भन्ने अर्को थरी मान्यता छ ।
धार्मिक रूपमा विभिन्न हिसाबले चर्चा गरिएपनि वैज्ञानिक हिसाबले हेर्ने हो भने सर्प हाम्रो पारिस्थितीकीय प्रणालीको एक महत्वपूर्ण प्राणी हो । सरिसृप जीव सर्पले खाद्य चक्रमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । चाहे त्यो खेतबारीमा हुने भ्यागुता होस् या मुसाजस्ता ससाना जीवहरूलाई खाएर सन्तुलन राख्न मद्दत गर्छ । सर्पले यिनको संख्या नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।
यसले अप्रत्यक्ष रूपमा पनि बिउको विसर्जन गरेको हुन्छ । जस्तो कि मुसाजस्ता रोडेन्ट्स प्रजातिलाई आहारा बनाउँदा सर्पले त्यस्ता जीवभित्र हुने बिउ तथा दानाहरु एक ठाउँबाट अर्कोतर्फ लैजान भूमिका खेलेको हुन्छ । मुसा जस्ता जीवहरूबाट मानिस तथा घरपालुवा जीवहरुमा सर्ने रोगको नियन्त्रणमा पनि सर्पले भूमिका खेलेको हुन्छ । सर्पदंशको उपचारका लागि सर्पबाटै नै विष निकालेर औषधि बनाइने भएकाले पनि यसको महत्व धेरै नै हुन्छ ।
गोमन सर्प
सर्पलाई देख्ने बित्तिकै आङ्ग जिरिङ हुने र आक्रमणमा उत्रने परिपाटी छ । सर्पप्रतिको डर र डस्छ भन्ने आम बुझाइ भएकाले यो अवस्था आएको छ ।
हामीले नाग पञ्चमीको दिन सर्पको धार्मिक एवं वैज्ञानिक महत्वको कुरा गरिरहँदा सर्पदंशलाई नजरअन्दाज गर्न मिल्दैन । अघिल्लो दिन अर्थात हिजो बिहीबार बर्दियाको गुलरिया नगरपालिका–१ मा दुई जनाको मृत्यु भयो । ९ महिने शिशु र ११ वर्षया बालिकाको सुतिरहेको अवस्थामा सर्पको डसाइबाट मृत्यु भयो । सोही वडाकी अर्की ६ वर्षीया किशोरी सर्पदंशबाट गम्भीर घाइते भएर भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेकी छन् ।
वैशाखदेखि असोजसम्म नेपालमा अझ विशेष गरेर तराईमा सर्पदंशका घटनाहरू धेरै नै हुने गर्छ । गर्मीमा छल्ने दुलोभित्र पस्दा धेरै तातो भएर निस्कने र दुलोभित्र पानी पस्दा बाहिर निस्कने घटना यो बेला हुने गरेका छन् । यो समय सर्पका लागि उर्वर मानिन्छ । फुल पार्ने र बच्चा कोरल्ने,आहारको खोजी गर्ने क्रममा सर्पदंशका घटनाहरू हुन्छन् ।
अझ सर्प दंशका घटनाका चर्चाको गर्दा नेपालका तराई क्षेत्र बढी नै प्रभावित भएको देखिन्छ । यसको कारण विभिन्न छन् । घरहरूको संरचना सुरक्षित नहुने, बस्ती बाक्लो हुने, धेरै कुनाकाप्चा हुने, झुल नलाई भुईंमै सुत्ने, सर्पको संख्या धेरै तराई क्षेत्रमा हुने भएकाले पनि मानव सर्प द्वन्द्वको हुने गरेको छ ।
हरेउ सर्प
धरानस्थति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा.सञ्जिवकुमार शर्मा सहितको समूहले गरेको एक अध्ययन अनुसार तराईमा हरेक १ लाख मानिसहरूमध्ये हरेक वर्ष २ सय ६१ जना मानिसलाई सर्पले डस्ने गर्छ । ल्यानसेट जर्नलमा प्रकासित उक्त अध्ययन अनुसार सर्पदंशका ती घटनामध्ये २२ जनाको ज्यान जान्छ । सो अध्ययनमा सर्पदंशबाट नेपालमा हरेक वर्ष ३ हजार मानिसहरूको मृत्यु हुने गर्छ ।
तराईका २३ जिल्लामा वार्षिक रूपमा सर्पदंशका ३७ हजार ६ सय ६१ वटा घटना हुने गरेको उनको अध्ययनको निष्कर्ष छ । ती घटनाहरूमा २ हजार ३ सय ८६ देखि ३ हजार २ सय २५ जनाको मानिसहरूको मृत्यु हुने गरेको छ ।
तराईमा गोमन र करेत सर्पका डसाइका घटना हुने गर्छ । अझ सबैभन्दा बढी ग्रामीण भेगमा हुन्छ । करेत सर्प अध्याँरोमा बढी सक्रिय हुन्छ भने गोमन चाँहि बिहान र दिउँसो उज्यालो भएको बेला बढी सक्रिय हुने गर्छ । प्रायः गोमन सर्पको डसाइ उज्यालोमा र करेतको अँध्यारोमा हुने घटनाक्रमहरूले पनि देखाउँछन् । करेत सर्प बसेको ठाउँमा जाँदा दिउँसै पनि त्यस्ता घटना हुन सक्छन् । धेरै घाम चर्किएको बेला सर्पहरू ननिस्कने यसका विशेषता हुन् ।
करेतको डसाइबाट अस्पतालमा जाने बिरामीहरूलाई टोकेको थाहा हुँदैन । करेतले टोकेको ठाउँमा सानो दाग हुने र राति आहारा खोज्ने क्रममा मानिसलाई टोक्दा थाहा हुँदैन । बर्दियाको घटनामा पनि करेत सर्प हुन सक्ने अड्कल लगाउन सकिन्छ । गोमन सर्पले आवाज पनि निकाल्ने र टोकेको ठाउँमा धेरै दुख्ने र घाउ देखिने गर्छ । पहाडमा हरेउ तथा भाइपर प्रजातिका सर्पले टोकेको स्थानमा दुख्ने र सुनिने गर्छ ।
नेपाल पाइने सर्प प्रजातिमध्ये करिब २१ प्रजातिहरू विषालु छन् । तीमध्ये पनि गोमन, करेत, रूसेल्स भाइपर, किङ कोब्रा र कोरल स्नेक (कर्कट नाग) अझ धेरै विषालु मानिन्छन् ।
सर्पको टोकाइबाट हुने मृत्युलाई कम गर्न ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्पदंश व्यवस्थापन सम्बन्धिको कार्यविधि नै निकालेको छ । उक्त कार्यविधिमा उल्लेख भए अनुसार सर्पदंशका अधिकांस घटनामा मानिसहरु आफ्नै कारणले ज्यान गुमाउने गरेका छन् । घरेलु औषधि सेवन,अत्तालिएर र झारफुक अनि समयमा नै अस्पताल नपु-याउँदा मानिसहरुले ज्यान गुमाउने गरेका छन् ।
रसेल भाइपर स्नेक (बाघे सर्प)
नेपालमा सर्पलाई देख्ने बित्तिकै मार्ने क्रम विद्यमान भएपनि पछिल्लो समय देशका विभिन्न स्थानमा सर्प उद्धार तथा संरक्षण सम्बन्धी जनचेतनामूलक कार्यहरू हुन थालेका छन् । सर्प उद्धारकर्ताहरूको पनि उपस्थिती हुन थालेको छ । तर सर्प उद्धारको नाममा सुरक्षा संवेदनशीलता नअपनाउने, जथभावी तस्बिर/भिडियो खिच्ने कार्य गर्दा उल्टै शिकार हुने गरेका छन् । सर्प उद्धार सम्बन्धमा एउटा छुट्टै कार्यविधि निर्माण गरेर उद्धारकर्ताहरूलाई पनि विशेष तालिम दिएर एउटा कानुनमा बाँध्नु जरूरी देखिन्छ ।
दुई टाउके करेत
अर्कोतर्फ अधिकांस सर्प विषालु हुँदैनन् र नचलाएसम्म टोक्दैन । सर्पले खेतका मुसा, भ्यागुतालगायतका जीवहरु खाने भएकाले उसको आहार मानिस होइन । तर सर्पलाई चलाउने, जिस्काउने जस्ता कार्यले सर्पदंशका घटना हुने गरेका छन् । नेपालमा मानव वन्यजन्तु द्वन्द्व भन्दा बढी गम्भीर रूपमा मानव–सर्प द्वन्द्व देखा परेको छ । सर्पदंशबाट हुने मृत्यु र घाइतेको संख्या नेपालमा वन्यजन्तुबाट हुनेभन्दा बढी छ ।
सर्पदंशमा अधिकांश गरिब तथा विपन्न वर्गका मानिसहरू नै पीडित छन् । उनीहरूका लागि पनि राहत प्याकेजका लागि विशेष योजना ल्याउनुपर्ने देखिएको छ । सँगै सुतेको आफ्नो सन्तानलाई बिहान सर्पको डसाइबाट मृत्यु भएको अवस्थामा देख्दा त्यो अभिभावकलाई कस्तो होला ? तसर्थ, सर्पदंशका र यसबाट हुने घट्नालाई रोक्नका लागि सचेतना तथा राहत प्याकेज ल्याउनेतर्फ आगामी कदम चाल्नुपर्ने देखिन्छ ।
कान्तिपुर दैनिक