Saturday, October 19, 2024

मौवा संरक्षणमा जुट्यो लुम्बिनी प्रदेश

२४ साउन, बर्दिया
थारू समुदायको संस्कृति एवं परम्परासँग जोडिएको मौवा वृक्ष संरक्षणमा लुम्बिनी प्रदेश सरकारले चासो देखाएको छ ।

डिभिजन वन कार्यालयसँगको सहकार्यमा बहुउपयोगी मौवा प्रवर्द्धन गर्न वृक्षरोपणसँगै सामुदायिक वनमा मौवा ‘ट्यागिङ’सुरु भएको छ । थारू समुदायलाई आयआर्जनमा जोड्ने उद्देश्यले प्रदेश सरकारले कार्यक्रम अघि सारेपछि वन कार्यालयसँगको सहकार्यमा मौवा रोपिएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत द्रोणराज शर्माले बताए ।

अभियान अन्तर्गत बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरस्थित थारू सामुदायिक वनको १.३ हेक्टर खाली जग्गामा २ हजार ७४ वटा बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयले १ वर्षे र बहुवर्षे गरी १ लाख ४५ हजार विभिन्न बिरुवा उत्पादन गरी करिब १ लाख बिरुवा वितरण गरेको छ । साउन अन्तिम सातासम्म बर्दियाका सामुदायिक वन तथा खाली ठाउँ गरी ४४.९२ हेक्टर क्षेत्रफलमा वृक्षरोपण भएको बताइएको छ ।

प्रदेश सरकारको स्थानीय परम्परागत बिरुवा तथा बाली जोगाउने नीतिअनुरुप बर्दियामा मौवाको संरक्षण सुरु गरेको लुम्बिनी प्रदेशसभा सदस्य राजकुमार चौधरीले बताए । मौवा थारू समुदायसँग जोडिएको बिरुवा भएकाले यसलाई संरक्षण गर्दै मदिरा उत्पादन गरी बजारीकरण गर्ने र विदेशी मदिरा निर्यातलाई रोक्ने प्रदेशको लक्ष्य छ । थारू समुदायमा मौवाको मदिरा पूजाआजा एवं सांस्कृति कार्यमा प्रयोग हुने गरेको छ ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार