Saturday, October 19, 2024

बेपत्ता युवाको शव पर्सा निकुञ्जभित्र भेटियो

२३ साउन, पर्सा
पर्सा राष्ट्रिय निकुञ्ज भित्रको दुधेश्वरनाथ महादेव मन्दिर दर्शनका क्रममा हराएका २ जनाको शव फेला परेको छ ।

निकुञ्जको शितलपुर खोला क्षेत्रमा २ जना युवाको शव भेटिएको हो । मृतक दुवै जना मकवानपुरका हुन् । मकवानपुरको राक्सीराङ्ग गाउँपालिका–२ टुमकीका राजकुमार मेगी र मकवानपुरकै मनहरी गाउँपालिका–५ दिलिपुरका रामबहादुर मुक्तानको शव फेला परेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

उनीहरूको शव मंगलबार बेलुका सवा ५ बजे रामभौरी भाठा क्षेत्रबाट १२ किलोमिटर उत्तरतर्फको शितलपुर खोला नजिक भेटिएको हो । निकुञ्जको रामभौडी भाठा पोष्टका  रेञ्जर चुमन ठाकुरका अनुसार मेगी र मुक्तान बेपत्ता भएको खबर पाएपछि सेना, सशस्त्र प्रहरी, जनपद प्रहरीसहितको टोलीले खोजी गर्ने क्रममा शव भेटिएको हो ।

निकुञ्जको निषेधित क्षेत्रको बाटो लुकिछिपी आउने क्रममा उनीहरूलाई हात्तीले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हात्तीले आक्रमण गर्न थालेपछि सँगै रहेका अन्य २ जनाले भागेर ज्यान बचाएका र भागेकाहरूले नै घटनाबारे बताएपछि खोजी गरिएको रेञ्जर ठाकुरले बताए ।

मृतक दुई जनालाई हात्तीले आक्रमण गरेको थियो । उनीहरू सँगै रहेका अन्य २ जना भने हात्तीले आक्रमण गरेको देख्ने बित्तिकै भाग्न सफल भएका थिए । उनीहरू भागेर घर पुगेपछि दुई जना बेपत्ता भएको खबर पाएर खोजी थालिएको रेन्जर ठाकुरले बताए । शव भेटिएको क्षेत्रमा जंगली हात्तीका पाइला पनि देखिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार