Tuesday, September 17, 2024

विपद्मा मृत्यु भएका परिवारलाई रकम भुक्तानी

२३ साउन, सुर्खेत
मनसुन र विभिन्न प्रकारका विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवार/आफन्तलाई ३ करोड ४० लाख रूपैयाँ उपलब्ध गराइएको छ ।कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत आर्थिक सहयोग प्रदान गरेको हो ।

गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असारसम्म भूकम्प, बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रकम भुक्तानी गरेको हो । १ सय ७१ जना हकवालालाई उक्त रकम भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ ।

जाजरकोट भूकम्पमा मृत्यु भएका १ सय ५१ व्यक्तिका परिवारलाई जनही २ लाखका दरले ३ करोड रकम बीमामार्फत भुक्तानी गरिएको हो । भूकम्पबाट मृत्यु भएका बाँकी जना परिवारको रकम भुक्तानी प्रक्रियामा रहेको मन्त्रालयका अधिकृत कमल सापकोटाले जानकारी दिए । भूकम्पबाहेक अन्य विपद्मा परी मृत्युभएका २० जनाका परिवारलाई ४० लाख रूपैयाँ भुक्तानी गरिएको उनले बताए ।

कर्णाली प्रदेशका १७ लाख नागरिकले विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । केही व्यक्तिको कागज नपुगेकाले भुक्तानी हुन नसकेको बीमा कम्पनीको कर्णाली प्रदेश कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा १ सय ५१ जनाको भूकम्पमा मृत्यु भएको थियो ।

अन्य २० जनाको बाढीपहिरो लगायतका घटनामा परेर मृत्यु भएको हो । प्रदेश सरकारको ‘विपद् जोखिम बीमासम्बन्धी कार्यविधि, २०७६’ अनुसार विपद्बाट मृत्यु भएका परिवारका लागि २ लाख रूपैयाँ र आवास बीमाअन्तर्गत ५ लाख रूपैयाँ उपलब्ध गराउने बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार