Tuesday, September 17, 2024

३४ जिल्ला भारी वर्षाको उच्च जोखिममा

२२ साउन, काठमाडौं
मुलुकका विभिन्न ३४ जिल्ला भारी वर्षाको उच्च जोखिममा छन् । आज र भोलि देशका धेरै ठाउँमा भारी र अति भारी वर्षाको प्रक्षेपण गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले यस्तो प्रक्षेपण गरेसँगै राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कताका लागि सूचना जारी गरेको छ । प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रि बस नचलाउन समेत सचेत गराएको छ । जरुरी काम बाहेक यात्रा नगर्न, नदी किनाराका बासिन्दालाई चनाखो रहन र समस्या परे सुरक्षा निकायमा तुरुन्त खबर गर्न प्राधिकरणले अपिल गरेको हो ।

मौसम विभागले आज र भोलि भारी वर्षा र अतिभारी वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम भएका जिल्लामा रात्री बस समेत नचलाउन सचेत गराएको हो । मधेश र कर्णाली प्रदेश बाहेकका जिल्ला उच्च जोखिममा छन् ।

विभागले ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँलाई जोखिमको सूचीमा राखेको छ । नवलपरासी पूर्व, लमजुङ, गोरखा, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची, रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडी पनि उच्च जोखिममा छन् ।

भोलि बुधबार मध्य पश्चिम र सुदूरपश्चिमका भूभागमा धेरै वर्षा हुने मौसम विभागको प्रक्षेपण छ ।

ताजा समाचार

सम्बन्धित समाचार