Tuesday, September 17, 2024

भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै

२१ साउन, काठमाडौं
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ ।

महाशाखाका अनुसार भोलि र पर्सि (२२ र २३ साउनमा) मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । तीन दिने विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले कोशी, वाग्गमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ । विभागले बुलेटिन जारी गरी देशभर समान्यदेखि पूर्णतया बदली रही अधिकांश स्थानमा वर्षा हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

जिल्लागत मनसुनी वर्षाको उच्च जोखिममा कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम देखिन्छ भने वाग्गमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवकोट र दोलखा रहेका छन् । वर्षाको उच्च जोखिममा गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा छन् भने लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची रहेका छन् ।

सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी वर्षाको उच्च जोखिममा रहेका महाशाखाले जनाएको छ । रातिको समयमा मनसुन बढी सक्रिय भई पानी पर्ने सम्भावना बढी हुने भएकाले यी दुईदिन सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायातका साधन प्रभावित हुने भएकाले आवश्यक सर्तकता तथा पूर्वतयारी अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार