Saturday, October 19, 2024

घडियालले कोरले बच्चा

१७ साउन, धनगढी
कैलालीमा दुर्लभ घडियाल गोहीले बच्चा कोरलेका छन् । घडियालले कर्णाली र पथरैया नदीमा बच्चा कोरलेका हुन् ।

स्थानीय संरक्षणकर्मीका अनुसार यस वर्ष पथरैयामा २ र कर्णाली नदीमा ३ स्थानमा घडियालले १ सय २४ वटा बच्चा निकालेका छन् । गत वर्ष एउटा घडियाल गोहीले पथरैया र काँढा नदीको दोभानमा बच्चा कोरलेको थियो । गत वर्ष घडियालले एक गुँडबाट ३५ वटा बच्चा निकालेको थियो ।

कर्णाली नदीमा ४ वटा गुँड फेला परेकामा ३ वटा गुँडबाट मात्रै बच्चा निस्केको स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिए ।उनका अनुसार ३ गुँडबाट ८४ जीवित बच्चा निस्केका छन् । ३ अन्डा बिग्रेका र १४ बच्चा मरेको अवस्थामा फेला परेको जनाइएको छ । पथरैया नदीमा ३ वटा गुँड फेला परेका थिए । तीमध्ये दुई वटा गुँडबाट मात्रै २८ वटा बच्चा निस्केका छन् ।

‘घडियालले बच्चा निकाल्नका लागि गुँड भिरालो स्थानमा हुनु पर्छ,’ उनले भने, ‘२ गुँड अलि होचो स्थानमा भएकाले बाढीका कारण बच्चा निकाल्न सफल भएन ।’

वयस्क पोथी घडियालको लम्बाइ ३.५ देखि ४.५ मिटरसम्म हुने गर्छ । ९/१० वर्षको भएपछि पोथी घडियाल प्रजननका लागि परिपक्व हुने जनाइएको छ । पुस र माघमा ‘मिटिङ’ पछि पोथीले चैत वैशाखतिर अन्डा दिने गर्छ । घडियालले नदीकिनारको बालुवामा गुँड (खाल्डो) बनाएर त्यसमा एकै पटक करिब ४० वटासम्म अन्डा पार्ने गर्छन् ।

खाल्डोमा अन्डा पुरेर गोही फेरि जलाशयमा फर्कने गर्छन् । ‘बालुवामा तलमाथिबाट तापक्रम मिल्ने गरेर गोहीले गुँड बनाएका हुन्छन्,’ ढुङ्गानाले भने, ‘गुँडमा रहेको अन्डा आफैँ फुटेर ६० देखि ९० दिनको बिचमा बच्चा निस्कन्छन् ।’

अन्डा आफैँ फुटेर निस्केका बच्चालाई माउले शरीरमा चढाएर पानीमा आहारविहार गराउँछ । वयस्क घडियालले ठुलो माछा र सानो बच्चाले सानो माछा खाने गर्छन् । लोप हुने अवस्थामा पुगेको घडियाल गोही नेपालमा थोरै संख्यामा रहेको बताइन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले घडियाललाई संरक्षित सरीसृप वन्यजन्तुको सूचीमा राखेको छ । यस वर्ष डल्फिन संरक्षित क्षेत्रको मोहना, पथरैया, कान्द्रा नदीमा १२ वटासम्म घडियाल देखा परिरहेको जनाइएको छ । डल्फिन पाइने यहाँका नदीमा घडियाल र मगर गोहीको बसोवास वर्षभरि नै हुने गरेको छ ।

गोरखापत्र दैनिक

ताजा समाचार

सम्बन्धित समाचार