Saturday, October 19, 2024

गैंडाको अनुसन्धानमा ४ जना पक्राउ

१३ साउन, चितवन
बँदेल मार्न बनाइएको विद्युतीय धरापमा परी गैंडा मरेपछि ४ जना पक्राउ परेका छन् । शरीरमा चोट नदेखिएको करिब १३ वर्षको पोथी गैंडाको मृत्युपछिको अनुसन्धानका क्रममा ४ जनालाई पक्राउ परेका हुन् ।

गत साता (८ साउनमा) भरतपुर महानगरपालिका–२६मा स्थानीयको मकैबारीमा गैंडा मृत भेटिएको थियो । २ जना ८ साउनमा २ जना १० साउनमा पक्राउ परेका हुन् । गैंडाको खाग, खुर सुरक्षित रहेको, शरीरमा चोट देखिएकाले बुढो भएर मरेको हुनसक्ने चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरूको प्रारम्भिक ठहर थियो ।

गैंडाको शव परीक्षणका क्रममा विद्युतीय धरापमा पारी मारिएको खुलेपछि अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिइएको चितवन निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुनले जानकारी दिए । उनका अनुसार चारै जनालाई चितवन जिल्ला अदालतबाट ६ दिनको समय थप गरी अनुसन्धान भइरहेको छ ।

गैंडा र अन्य संरक्षित जिवजन्तुलाई जुनसुकै किसिमले घाइते बनाउने, घेरा हाल्ने, लखेट्ने, मार्ने जस्ता गतिविधि चोरी शिकारी मानिने भएकाले अनुसन्धान जारी रहेको पुनले बताए ।

चालु आर्थिक वर्ष २०८१/८२मा चितवनमा गैंडा मृत भेटिएको यो पहिलो घटना हो । गत आर्थिक वर्षमा चितवन निकुञ्ज र आसपासका भेगमा २१ वटा गैंडा मृत भेटिएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार