Saturday, October 19, 2024

फोहोर नपाउँदा परीक्षणमै प्लान्ट

१५ साउन, दाङ
फोहोरबाट ग्यास उत्पादन गरेर घर घरमा पु-याउने योजना अनुसार दाङको घोराहीमा निर्माण गरिएको बायोग्यास प्लान्ट उद्घाटन भएको २ वर्षभन्दा बढी भयो ।

२०७८ चैत १९ गते घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले उद्घाटन गरेको उक्त प्लान्ट फोहोर अभावले पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन । प्लान्ट सञ्चालनका लागि आवश्यक फोहोर संकलन हुन नसक्दा परीक्षणका रूपमा मात्रै घरलाई ग्यास वितरण गरिरहेको नेपाल ऊर्जा विकास कम्पनीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठ बताउँछन् ।

प्लान्टका लागि दैनिक २५ टन फोहोर आवश्यक रहे पनि अहिले करिब २ टन मात्र फोहोर संकलन भइरहेको उनले जानकारी दिए । अहिले परीक्षणका लागि ३४ घरपरिवारलाई दैनिक ४ घण्टाका दरले निःशुल्क बायोग्यास वितरण गरिरहेको श्रेष्ठले बताए । उनले भने, ‘घोराही–१६ का करिब १ सय घरमा पाइपबाट बायोग्यास पु-याउन पाइप विस्तार गरिसकेका छौँ तर फोहोर अभावका कारण सञ्चालन गर्न सकेका छैनौँ ।’

अहिले दैनिक ६० देखि ६५ घनमिटरसम्म ग्यास उत्पादन हुने गरेको छ । त्यही ग्यासलाई खेर फाल्नुभन्दा परीक्षणका रूपमा प्लान्ट वरपरका स्थानीयलाई दिने गरेको श्रेष्ठले बताए । प्लान्ट पूर्ण रूपमा सञ्चालनमा आउँदा दैनिक २ हजार घनमिटर ग्यास उत्पादन हुने गर्छ । प्लान्टका लागि फोहोर बढाउने र आगामी भदौदेखि करिब १ सय घरपरिवारमा बायोग्यास पु-याउने गरी काम भइरहेको श्रेष्ठले जानकारी दिए ।

त्यसका लागि घोराहीमा रहेका वधशालालाई व्यवस्थित गर्ने, गल्ने र नगल्ने फोहोर अनिवार्य रूपमा वर्गीकरण गर्ने र अन्य आवश्यक फोहोर गौशालाबाट ल्याउने गरी काम भइरहेको उनले बताए । पहिले घोराहीमा प्रशस्त फोहोर हुने भएकाले प्लान्ट स्थापना भए पनि बंगुरपालन गर्ने व्यवसायीले बजारको फोहोर उठाउने हुँदा समस्या भएको प्लान्टले जनाएको छ ।

२०७५ मङ्सिर ५ गते वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिकाबिच त्रिपक्षीय सहकार्यमा घोराहीमा फोहोरबाट ग्यास उत्पादन गर्ने सम्झौता अनुसार २०७८ मा प्लान्ट निर्माण भएको थियो ।

सम्झौता अनुसार उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउने, कम्पनीको ६० प्रतिशत र केन्द्रको ४० प्रतिशत लगानी गरेर फोहोरबाट ग्यास उत्पादन गर्ने योजना अनुसार प्लान्ट निर्माण गरिएको थियो । प्लान्टका लागि फोहोर व्यवस्थापनका लागि घोराही उपमहानगरले गल्ने र नगल्ने फोहोर उपभोक्तालाई छुट्याउन लगाएर बार अनुसार फोहोर संकलन गर्ने गरेको छ ।

उपभोक्ताले गल्ने नगल्ने फोहोर नुछट्याउने र धेरै जसो फोहोर होटेलबाटै बंगुरपालन गर्ने व्यवसायीले लैजाने भएकाले प्लान्टका लागि आवश्यक फोहोर संकलन हुन नसकेको घोराही उपमहानगरका वातावरण तथा सरसफाइ शाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए । प्लान्ट स्थापनाका लागि करिब २० करोड रुपियाँ खर्च भइसकेको छ ।


गोरखापत्र दैनिक

ताजा समाचार

सम्बन्धित समाचार