Saturday, October 19, 2024

कञ्चनजंघामा हिउँ चितुवाको आक्रमण बढ्दो

१५ साउन, ताप्लेजुङ
जिल्लामा हिउँ चितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत वर्ष आर्थिक वर्ष २०८०/८१ मा कञ्चनजंघा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारिदिएको थियो ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अनुसार फक्ताङलुङ गाउँपालिका–७ याङ्माका आङ्मु शेर्पा, गोम्बो शेर्पा, नाम्ग्या शेर्पा, छिरिङ शेर्पा, झम्जुक शेर्पा, छिमिदोर्जे शेर्पा, छेतेन टासी शेर्पा, भोमो शेर्पा र तेन्जिङ शेर्पाको याक हिउँ चितुवाले आक्रमण गरी क्षति पुर्याएको हो ।उच्च हिमाली क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेका याक पालन रहेको छ ।

परिषद्काका सचिव मनकुमार लिम्बूले हिउँ चितुवाबाट आक्रमण भई क्षति भएका याकको प्रविधिक अध्ययनपछि किसालाई ४० हजारदेखि १ लाख २० हजार रूपैयाँ क्षतिपूर्ति तथा राहत उपलब्ध गराएको बताए । उनका अनुसार आव २०८०/८१ मा कञ्चनजंघा संरक्षण क्षेत्रका किसानका १६ वटा याक हिउँ चितुवाले मारेको छ । परिषद्ले ती याकको क्षतिपूर्ति तथा राहतका लागि ५ लाख ५ हजार रूपैयाँ किसानलाई उपलब्ध गराएको थियो ।

त्यस्तै कञ्चजंघा संरक्षण क्षेत्रअन्तर्गत सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिन क्षेत्रमा चितुवाको आक्रमणबाट २–२ गोरु र फक्ताङलुङ–५ को हिमाली क्षेत्रमा ४ वटा बाख्रा आक्रमणबाट क्षति भएको परिषद्ले जनाएको छ । परिषद्का अनुसार २ वटा गोरु चितुवाले क्षति गरेवापत ५० हजार र ४ वटा बाख्रा क्षति गरेवापत ३० हजार रूपैयाँ राहत उपलब्ध गराएको छ ।

त्यस्तै सिरिजङ्गा–८ का मोहन राईको याक भालुले आक्रमण गरी खाइदिएको छ । राईलाई परिषद् कार्यालयले ४५ हजार रूपैयाँ राहत उपलब्ध गराएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको अध्ययनअनुसार सन् २०१५ मा कञ्चनजंघा क्षेत्रमा २४ हिउँ चितुवा पाइएको छ । यसपछि हिउँ चितुवाको गणना भएको छैन ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार