Saturday, October 19, 2024

पहिरोमा ५ जना बेपत्ता, २ जना घाइते

१३ साउन, गोरखा
उत्तरी गोरखाको धार्चे गाउँपालिका– ५ रेसेफाँटमा एकै घरका ३ जनासहित ५ जना पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।

रेसेगाउँमा कृषि फार्म र नजिकैको घर पहिरोमा पुरिएपछि थप २ जना घाइते भएका छन् । कृषि फर्म सञ्चालक जितबहादुर गुरुङका ३ जनाको परिवारसहित ५ जना बेपत्ता भएका हुन् । जितबहादुर, उनकी श्रीमती कान्छी गुरुङ, उनका बुवा सुलाल कान्छा गुरुङ बेपत्ता छन् ।

सोही ठाउँका रमेश गुरुङ र ट्याक्टर चालक रमेश परियार बेपत्ता भएका प्रहरीले जनाएको छ । पहिरोमा परेका दुई जनाको उद्धार गरिएको छ । नान्सेन सामुदायिक वनबाट लेदोसहितको पहिरोले कृषि फर्म र एक घर पुरेको प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार सोही ठाउँका ३५ वर्षीय दिलीप गुरुङ र फार्मका कामदार खमबहादुर गुरुङलाई उपचारका लागि हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको छ । उद्धारका लागि माछी खोलास्थित प्रहरी चौकी र लाप्राकबाट खटिएको छ । घटनास्थलतर्फ नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि जाँदै छ ।

ताजा समाचार

सम्बन्धित समाचार