Sunday, September 8, 2024

नेवापस पूर्व अध्यक्ष रिसाललाई ‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’

७ साउन, काठमाडौं
यस वर्षको ‘यज्ञप्रसाद आचार्य रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ वरिष्ठ पत्रकार भैरव रिसालले प्राप्त गरेका छन् ।

रोटरी क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ को स्थापना दिवसका अवसरमा उनलाई क्लबले १ लाख १ हजार रूपैयाँ र सम्मानपत्र प्रदान गरेको हो । ९६ वर्षीय रिसाल नेपाल वातावरण पत्रकार समूह (नेवापस)का पूर्व अध्यक्ष हुन् । हाल उनी समूहका मानार्थ सदस्य छन् ।

यो पुरस्कार रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का संस्थापकसमेत रहेका पत्रकार सुरेश आचार्यले आफ्ना स्वर्गीय पिता यज्ञप्रसाद आचार्यको स्मरणमा स्थापना गरेका हुन् । यही वर्षदेखि प्रदान गर्न थालिएको यो पुरस्कार हरेक २ वर्षमा प्रदान गरिने बताइएको छ ।

क्लब पदाधिकारीले सोमबार (७ साउनमा) रिसाल निवास पुगेर पुरस्कार प्रदान गरे । यो अवार्डले आफूलाई सक्रिय जीवनका लागि थप ऊर्जा र प्रेरणा मिलेको बताएका रिसालले पछिल्लो समय पत्रकारिताको मूल्य, मान्यता र आदर्श खस्किएको गुनासो गरे ।

रोटरी जर्नो अवार्ड समितिका निमित्त अध्यक्ष नम्रता शर्माले पत्रकारिताको माध्यमबाट रिसालले राष्ट्रका लागि दिएको योगदानलाई कदर गर्दै यो अवार्ड प्रदान गरिएको बताइन् । वातावरण, शिक्षा, स्वास्थ्यलगायतका विधामा अवार्ड प्रदान गर्दै आएको रोटरीले यसवर्षदेखि पत्रकारितामार्फत देश र समाजका लागि विशेष योगदान दिने पत्रकारलाई सम्मान गर्ने परम्परा सुरु गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार