Sunday, September 8, 2024

निकुञ्जमा ७६ जनावर मरे, सबैभन्दा बढी चित्तल

७ साउन, चितवन
चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा १५ प्रजातिका ७६ जनावर मरेका छन् । ती मध्ये सबैभन्दा बढी चित्तल छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा कुकुरको आक्रमणबाट २ र २२ प्राकृतिक कारणले २४ चित्तल मरेका थिए । यसैगरी सो अवधिमा गैँडा २१ मरेका छन् । ती मध्ये १८ प्राकृतिक कारणले हो भने २ चोरी सिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए ।

यसैगरी प्राकृतिक कारणले आठ बाघ मरेका छन् । रतुवा छवटा मरेको अवस्थामा भेटिएको उनले जानकारी दिए । ती सबै प्राकृतिक कारणले मरेका हुन् । ५ वटा हात्ती र जरायो ४ वटा प्राकृतिक कारणले मरेका छन् । यसै अवधिमा घडियाल गोही २ वटा मरेका छन् । एउटा प्राकृतिक कारणले हो भने एउटाको कारण खुल्न सकेको छैन ।

मगर गोही २, बँदेल १, लगुना १ र २ वटा अन्य जनावर प्राकृतिक कारणले मरेको सूचना अधिकारी तिवारीले बताए । मृतावस्थामा भेटिएका जनावरमध्ये ७० जनावर प्राकृतिक कारणले, २ चोरी सिकारीले, २ कुकुरको आक्रमणबाट र २ वटा कारण खुल्न नसकेको उनले जानकारी दिए ।

गत वर्ष निकुञ्जले २ सय २२ वटा जनावरको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामा सबैभन्दा धेरै अजिङ्गर १ सय ४१ छन् । ३३ सर्प, ११–११ बाघ र मगर गोहीको उद्धार गरिएको उनले बताए । चित्तल ६ वटा, गैँडा ३ वटा, जरायो, बँदेल र चितुवा २–२ वटा, सुन कछुवा र घडियाल गोही १–१ वटाको उद्धार गरिएको छ । अन्य जनावर ९ वटाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताए ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार