Sunday, September 8, 2024

वन्यजन्तु प्रभावितलाई राहत प्रदान

६ साउन, चितवन

चितवन राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने जनतालाई २ करोड २ लाख १७ हजार ७ सय २ रूपैयाँ राहत प्रदान गरिएको छ ।

निकुञ्जले ८ सय १३ वटा घटनाका प्रभावितलाई सो रकम वितरण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षको विभिन्न समयमा वन्यजन्तुले पु¥याएको क्षतिको मूल्यांकन गरी राहत रकम वितरण गरिएको हो ।

उनका अनुसार वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका १० जनाको परिवारलाई १ करोड रूपैयाँ राहत रकम हस्तान्तरण गरिएको छ । यस्तै गम्भीर घाइते भएका २४ जनाको परिवारलाई ३२ लाख ४४ हजार एक सय ७४ रूपैयाँ प्रदान गरिएको छ ।

सामान्य घाइते भएका २३ जनाको परिवारलाई २ लाख ४५ हजार चारसय ६८ रूपैयाँ हस्तान्तरण गरिएको छ । तिवारीका अनुसार वन्यजन्तुको आक्रमणबाट ४७ जना घाइते भएका छन् । उनीहरूमध्ये हात्तीको आक्रमणबाट १३ जना, गैँडाको आक्रमणबाट २० जना, बाघको आक्रमणबाट ७ जना, भालुको आक्रमणबाट ५ जना, बँदेलको आक्रमणबाट १ जना र गौरीगाईको आक्रमणबाट १ जना घाइते भएका थिए ।

यसैगरी गैँडाको आक्रमणबाट ५ जना, बाघको आक्रमणबाट ३ जना र मगर गोहीको आक्रमणबाट २ जनाको मृत्यु भएको उनले बताए । गत आवमा १ सय ८७ वटा पशु धनमा जनावरका कारण क्षति पुगेको छ । त्यसका लागि २४ लाख ९१ हजार ७ सय १० रूपैयाँ राहत रकम प्रदान गरिएको छ ।

भण्डारण गरेको अन्नमा १२ पटक क्षति गरेको र सोबापत ९१ हजार रूपैयाँ राहत बुझाइएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । वन्यजन्तुले ३३ वटा घरगोठमा क्षति पु¥याएको तिवारीले बताए । घरगोठ क्षतिबापत ५ लाख ३५ हजार ९ सय ७५ रूपैयाँ राहत वितरण गरिएको छ ।अन्नबालीमा ५ सय २४ पटक क्षति भएको र ३६ लाख ९ हजार ३ सय ७५ रूपैयाँ राहत रकम हस्तान्तरण गरिएको तिवारीले बताए ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार