Friday, October 18, 2024

मृतकका परिवारलाई राहत रकम निकासा

५ साउन, काठमाडौं
मनसुनी विपद्मा परेर ज्यान गुमाएका परिवारलाई मापदण्ड राहत वितरण गर्न जिल्ला विपद् व्यवस्थापन कोषमा रकम निकासा भएको छ ।

६९ जनाका परिवारलाई २ लाख रूपैयाँका दरले राहत दिने प्रक्रिया अघि बढाइएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म मृत्यु भएका ६९ जनाका परिवारका लागि १ करोड ३८ लाख निकासा भएको छ ।

उक्त रकमबाट कतिपय जिल्लाले प्रक्रिया पु-याएर पीडितपरिवारलाई राहत वितरण पनि गरिसकेका छन् । मनसुनको अवधिमा सबै प्रकृतिका विपद्मा परेर अहिलेसम्म १ सय २५ भन्दा बढीको मृत्यु भइसकेको छ । त्यसमा सबैभन्दा बढी बाढीपहिरो र चट्याङका कारण मानवीय क्षति भएको छ ।

मनसुनका समयमा देशभर भारी वर्षाले विपद्का घटना बढेपछि उच्च जोखिममा रहेका १ सय २५ जनालाई सुरक्षा निकायद्वारा जीवित्तै उद्धार गर्न सफल भएको प्राधिकरणले जानकारी गराएको छ ।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव डा. डिजन भट्टराईले ओखलढुङ्गा, ताप्लेजुङ, कालीकोट र बझाङलगायत जिल्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएको पनि जानकारी दिए । मनसु सुरु भएको १ महिनामा मनसुनी विपद्को अवस्था प्राधिकरणले क्षतिको विवरण समेटेर प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्राधिकरणले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रसलगायत संघ संस्थाद्वारा प्रभावित परिवारलाई खाद्यान्न तथा गैरखाद्यान वस्तु वितरण गरिएको जानकारी दिएको छ ।

प्रतिवेदन अनुसार मनसुनबाट प्रभावित परिवारलाई तत्काल राहतस्वरुप १५ हजारदेखि २० हजार रूपैयाँसम्म वितरण गरिएको जनाएको छ । प्रवक्ता भट्टराईका अनुसार रेडक्रसबाट हालसम्म ७ सय ४५ थान तारजाली, २ सय ९५ थान ब्ल्याङ्केट, २ सय ५ थान म्याट्रेस, १ सय २५ थान भाँडाकुँडा उपलब्ध गराइएको छ ।

त्यसैगरी १ सय थान झुल, २ सय २५ थान सरसफाइ किट, १ हजार १ सय ३८ मिटर कपडा उपलब्ध गराइएको र गृह मन्त्रालयमातहत निकायबाट ५ सय २० थान त्रिपाल, ५० थान टेन्ट, ३ सय थान ब्ल्याङ्केट, १ सय थान म्याट्रेस र ५० थान स्लिपिङ ब्याग उपलब्ध गराइएको छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार