Sunday, September 8, 2024

हात्तीको आक्रमणबाट १० जनाको मृत्यु

४ साउन, झापा
गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् ।

सोही अवधिमा ५ वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार गत आवमा हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीका १० जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी झापा जिल्ला रहेको जानकारी दिए ।

उनले झापामा १ वर्षको अवधिमा ६, सुनसरीमा ३ र मोरङमा १ जनाको ज्यान गएको बताए । झापाको मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट गत वर्षको कात्तिकमा पसेका रैथाने हात्ती ३५ भन्दाबढी हात्तीको समूहले ठूलो धनजनको क्षति गरेको थियो । ‘सोही अवधिमा झापामा ४ वटा र मोरङमा एउटा हात्ती मरेका थिए’, प्रवक्ता दाहालले भने ।

एक वर्षको अवधिमा हात्तीको आक्रमणबाट झापामा १४, इलाममा १, मोरङमा ३, सुनसरीमा ५ र उदयपुरमा २ गरी २५ जना घाइते भएका उनले जानकारी दिए । हात्तीको आक्रमणबाट ज्यान गुमाउनेलाई सरकारले १० लाख रूपैयाँ क्षतिपूर्तिस्वरुप प्रदान गर्दै आएको छ । घाइतेको उपचारका लागि २५ हजारदेखि एक लाख रूपैयाँसम्म उपलब्ध गराउँदै आइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार