Friday, October 18, 2024

विपद्मा सरकारी अकर्मण्यता

कृष्णप्रसाद पौडेल
४ साउन, काठमाडौं
बंगालको खाडीबाट उत्पन्न हुने वर्षायामको पानी हाम्रो भूगोलको खानाको बन्दोबस्त गर्ने मूल आधार हो । वर्षात् मूलतः आकाशे पानीमा भर परेको हाम्रो खेती प्रणालीको प्राणवाहिनी हो । यो वर्षभरि खेतीपातीका लागि चाहिने पानीको व्यवस्था मिलाउन महत्त्वपूर्ण छ ।

यसले नै हाम्रा मुहान, खोला, खोल्सा, तालतलैया र सिमसार क्षेत्र भरिन्छन् । खानेपानी र खेतीपातीका लागि चाहिने पानीका मुख्य स्रोतहरू यिनै हुन् । यीमध्ये मुहानको पानी सर्वाधिक महत्त्वको छ । किनकि दक्षिण तराईका केही भागमा बाहेक नेपालका अधिकांश भागमा रहेका बस्तीहरूमा यो नै एक मात्र पानीको स्रोत हो ।

योसँगै सतहमुनिको माटोमा हुने पानी भण्डारणले वर्षैभरिको पानी चक्र प्राकृतिक रूपमा व्यवस्थित हुन्छ । तर बितेका केही वर्षदेखि जलवायुमा भइरहेको आकस्मिक फेरबदलले पानी भण्डारण प्रक्रियामा उतारचढाव आएको छ । वर्षा हुने क्षेत्र, समय, सघनता र मात्रा सबै अनिश्चित जस्तै भएको छ । बढिरहेको तापक्रम, अप्रत्याशित र प्रक्षेपण गर्नसमेत नसकिने गरी पानी चक्रमा आएको फेरबदल र वन विनाश तथा जैविक विविधताको उत्ताउलो दोहनले वातावरणीय तथा खाद्य संकट चुलिँदै गएको छ ।

यस्तो फेरबदलले खान र खेतीका लागि चाहिने पानीको अभाव दिनदिनै बढेको छ । वर्षायाममा यो पानी माटोमुनि भण्डारण हुनुको साटो सतहमै फैलिएर बाढी, पहिरो, कटान र डुबानको समस्या विकराल बन्दै गएको छ । यस्तो हुनुको पछाडि मुख्य कारण प्राकृतिक पानी चक्र बिथोलिनु हो ।

प्राकृतिक रूपमा सतहमा उपलब्ध हुने पानीको ठूलो हिस्सा सतहमुनिको माटोमा अवशोषित भएर रहेको हुन्छ र यो बिस्तारै रसाएर मुहान बनेर बाहिर निस्कन्छ । साथै, माटोमा हुने विभिन्न जैविक तथा रासायनिक प्रक्रियाले यसमा बन्ने छिद्र हुँदै सतहमा आउँछ । यसरी सतहको माटोमा आउने पानी जोगाइराख्न सानाठूला वनस्पति, जीव, जीवाणु र तिनका अवशेषको महत्त्वपूर्ण योगदान हुन्छ । यिनैबाट बन्ने जैविक पदार्थले यसरी उपलब्ध भएको पानीलाई सतहमा लामो समय टिकाइराख्छ, जुन बिरुवालाई उपलब्ध हुन्छ ।

हाम्रो भूगोलमा वर्षायाममा लगभग ९० प्रतिशत पानी पर्छ । गर्मीका दिनमा वाष्पीकरण भएको समुद्रको पानी घना बादलमा परिणत भएर न्यून चाप भएको ध्रुवीय क्षेत्रमा हिउँ र अन्य क्षेत्रमा पानी पर्छ । यो पानी नै पुनर्भरण भएर सतहमुनि जम्मा हुने गर्छ । यस्तो वर्षा हुने प्रक्रिया मुख्यतः हावाको दिशा र जमिनको सतहमा वनजंगलको अवस्थितिले निर्धारित गरेको हुन्छ । यिनको सन्तुलित प्रभावले प्राकृतिक पानी चक्र व्यवस्थित भएको हुन्छ । यसमा गडबड हुँदा पानी चक्र नै बिथोलिन्छ ।

औद्योगिकीकरणसँगै अहिले विश्वव्यापी रूपमा भइरहेको अत्यधिक खनिज ऊर्जा दोहन र वनजंगल फँडानीले हरित ग्यास उत्सर्जनसँगै तापक्रम ह्वात्तै बढेको छ । यसले जलवायुमा आकस्मिक परिवर्तन आएको छ । खासगरी, यसले पानी चक्रमा प्रतिकूल प्रभाव पारेको छ । तापक्रमको वृद्धिले जमिन अत्यधिक रूपमा तातो भएसँगै हिउँद र वर्षायाममा जमिनमा हुने वर्षाको अनिश्चितता बढेको छ ।

खासगरी, हिउँदमा पानी पर्न छाडेसँगै सतहको माटो लामो समयसम्म सुक्खा हुन थालेको छ । यसले हिउँदको अन्त्यसँगै सुरु हुने हाम्रो भूगोलको जैविक प्रक्रियासमेत सुस्त भएको छ भने अर्कोतिर वनजंगल फँडानी र रसायनका भरमा गरिने एकल खेतीले सतहको माटोमा हुने जैविक गतिविधि निरन्तर घट्दै गएको छ । यी सबैले माटोको क्षयीकरण र मरुभूमीकरण तीव्र भएको छ । यो क्रम निरन्तर रूपमा बढेको बढ्यै छ ।

सहरी काँठ, चुरे र तटीय क्षेत्रमा सघन खेतीको असर प्रत्यक्ष देख्न सकिन्छ । प्राकृतिक लयमा रहेको हिउँदे र वर्षे पानी बिथोलिँदा खाना र खेतीपातीमा सबैभन्दा बढी उपयोग हुने सतहमुनिको पानीको उपलब्धता स्वात्तै घटेको छ । चुरे र महाभारत शृंखलामा पानीको पूर्ण पुनःभण्डारण नभएको धेरै वर्ष भइसक्यो । यसले पहाडका खोला, खहरे र मूल सुक्ने उपत्यका, तराई–मधेशका तालतलैया, इनार र कुवामा पानीको सतह घटेको छ ।

अहिले हिउँद लाग्दा नलाग्दै पानीका मुहान सुक्न थालेका छन् । धेरै खोला र खोल्सामा हिउँदमा पानी नभएको वर्षौं भएको छ । यसको प्रभावले पहाडमा कतै बस्ती नै खाली भएका छन् भने कतै खेतीयोग्य जमिन बाँझै पल्टेका छन् । चुरे भावर र योसँगै जोडिएको तराई क्षेत्रमा पानीको अभावले जमिन उजाड हुने तथा मरुभूमीकरणको जोखिम निरन्तर बढिरहेको छ भने माथिबाट बगेर आउने माटो र मसिनो बालुवाले पानीको अवशोषण हुन नसक्दा तराईको तल्लो तटीय क्षेत्रमा पानी सतहमै रहने हुँदा बर्सेनि डुबानमा पर्ने गरेको छ । यो क्रम पनि निरन्तर बढ्दो छ ।

केही वर्षयता नियमित रूपमा हुने वर्षा बिथोलिएसँगै यसको वितण्डासमेत भयावह बन्दै गएको छ । यस्तो वितण्डा भने विकासका नाममा गरिएका अव्यवस्थित सहर, वनजंगल फँडानी, विकासे बाटो ल्याउन गिट्टी, बालुवा बेचेर धनी हुन गरिएको डोजर आतंकले निम्त्याएका हुन् । अव्यवस्थित सहर तथा बस्ती बसाउन नदी तथा खोलाको प्राकृतिक बाटो छेक्न प्रकृतिलाई बिरालोझैं बाँधेर चुट्ने उत्ताउला गतिविधिले यस्तो क्षति बढाइरहेको छ ।

पहाडका भिराला पाखापखेरा पहिरोले सखाप छन् । नदीका तटीय क्षेत्र बगरमा परिणत भएका छन् । यसले तराई र उपत्यका डुबानमा पर्ने गरेका छन् । लाखौं टन सतहको उर्वर माटो सधैंका लागि बगेर बंगालको खाडीमा पुग्ने गरेको छ । यो वर्ष मनसुन सुरु भएयता मात्र दुई सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन्, सयौं घाइते छन्, करोडौंको क्षति भएको छ । अझै यस वर्षको वर्षातमा ४५ देखि ६५ प्रतिशत बढी पानी पर्ने आकलन छ । अहिलेकै जस्तो उत्ताउलो वर्षा भयो भने स्थिति झनै भयावह हुनेछ ।

खोलाको प्रकृतिलाई नबिथोल्ने दशकअघिको कानुन भए पनि नदी किनारका जमिन कब्जा गरेर बस्ती बसाइएको छ । यो उपक्रम रोक्ने कुनै सार्थक कदम चाल्ने प्रयत्न कतै देखिँदैन । अपवादबाहेक बस्तीमा खोलो पसेको छैन तर खोलामा बस्ती बसाएका कारण हजारौंको उठीबास भएको छ । यो सबै वास्तविकतामा आँखा चिम्लिएका शासक भने यो वितण्डालाई एक्कासिको वर्षा र प्रकृतिको प्रकोप भन्दै केही उद्धार र राहतका कार्यक्रमको झारा टारेर पन्छिने गरेका छन् ।

मानवीय कारणले प्रकृतिमा आएको फेरबदल र यसका अन्तरनिहित कारणलाई दीर्घकालीन सम्बोधन गर्ने कुनै प्रभावकारी दृष्टिकोण छैन । यदाकदा सरकारले उद्धार र राहतका नाममा दातासामु सहयोगको याचना गर्ने र भित्रिएको सहयोगमै आँखा लगाउनेबाहेक यस्ता विपद् आउन नदिने दीर्घकालीन रोकथामका प्रयत्न शून्य बराबर छ । त्यसो त बाढीपहिरोको जोखिम न्यूनीकरण, जलवायु परिवर्तनको सम्बोधन गर्न बर्सेनि करोडौं डलरका दान र ऋणका परियोजना भित्रिरहेका छन् ।

यी परियोजनाको धेरैजसो काम भने खोला थुन्न बाँध बनाउने, यस्ता जोखिमबाट बच्न अग्रिम सूचना दिने संयन्त्र, प्रविधि, यसको प्रचार र वितण्डापछिका छिटफुट उद्धार र राहतमा झारा टार्नमै सीमित छन् । पहिले नै प्रकृति बिग्रन नदिन संरक्षण, संवर्द्धन र पुनर्भरणका काम गर्नुको साटो आफैं प्रकृतिको लय बिगार्ने अनि क्षतिपूर्ति र उद्धारको मन्त्र जप्ने सरकार र दाताको उल्टो मति नफेरिएसम्म दीर्घकालमा यो वितण्डाको समाधान गर्न सम्भव छैन ।

यसलाई विचार गर्दा सबैभन्दा पहिले हाम्रो उत्ताउलो विकासे मतिले कसरी जैविक विविधता, वन तथा वातावरण विनाश भइरहेको छ र यसलाई सच्याउन कस्तो दीर्घकालीन दिशामा जाने, स्पष्ट हुन जरुरी छ । सबैभन्दा पहिले अहिले भइरहेको समग्र प्रकृति खासगरी वन तथा वातावरण विनाशले यो वितण्डालाई थप बढाएको छ भन्ने कुरा बिर्सन हुँदैन ।

वन फँडानीले उजाड भएको जमिनको माटोको जैविक प्रक्रिया अवरुद्ध हुँदा माटोको पानी सोस्ने क्षमता घट्छ साथै पानीको तीव्र वेग रोक्ने वन, घाँसे मैदान उजाड हुँदा पानी सतहबाटै बग्न थालेको छ । यसले सतहको मलिलो माटो बगाउनुका साथै बाढी र पहिरो बढेको छ । विगतमा र यस वर्ष देशैभरि भएको वर्षाको वितण्डा यिनैका उपजहरू हुन् ।

अर्को, यो वितण्डा रोक्न नदीमा तारजालीसहितका बाँध लगाउने एक मात्र सूत्र बनाएका योजनाकारहरूको यो मति आजै कमाउने निजी स्वार्थबाट अभिप्रेरित छ । बिचौलिया दलालसँग मिलेर यस्ता तटबन्ध बनाउन अर्बौं रकम नदी किनारमा खन्याउने, नदी उकास भन्दै गिट्टी, बालुवाको व्यापार गर्ने र नदी र खोला किनारका सार्वजनिक जग्गाको घेराबन्दी गरेर नदीलाई कैदी बनाउँदै यिनै जमिनमा दलाली गरेर अर्बौं कुम्ल्याउने खेलमा लागेका छन् । यो प्रवृत्ति नै अहिलेको वितण्डाको एउटा महत्त्वपूर्ण शासकीय कारण हो ।

यी सबै कारणले पानीले निम्त्याउने जोखिम थप भयावह बन्दै गएको छ । यी जोखिम घटाउन स्थानीय भूगोलको विशेषतामा आधारित पानीका साथै वन संरक्षण, संवर्द्धन र व्यवस्थापनका दीर्घकालीन दृष्टिकोण र यसको ढाँचा पुनर्निर्माण गर्न आवश्यक छ ।

यसका लागि विकासको दृष्टिकोण र ढाँचा, स्थानीय पर्यावरणीय विशेषता, पानी चक्र, कृषि जैविक विविधताको बुझाइलाई उन्नत बनाउँदै प्रभावकारी नीतिगत हस्तक्षेप बढाउन सबै तहमा उच्च नैतिक बल र प्रकृतिसम्मत विवेक चाहिएको छ । तर यही वितण्डाबीच भइरहेका सत्ता लुछाचुँडीका खेलले यस्तो हस्तक्षेपको आस गर्ने कुरा त परै जाओस् ज्यान जोगाउनसमेत सहयोग पाउने अपेक्षा गर्न सकिन्न । तसर्थ, आज जनधनको सुरक्षा गर्न र भोलिका लागि प्रकृति जोगाउन सबै तहबाट प्रयत्न गर्नुको विकल्प छैन ।

पौडेल समुदायमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन विज्ञ हुन् । कान्तिपुर दैनिक

ताजा समाचार

सम्बन्धित समाचार