Friday, October 18, 2024

मनसुनजन्य विपद्बाट १२५को मृत्यु

३ साउन, काठमाडौं
अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी हालसम्म १ सय २५ जनाको मृत्यु भएको छ ।

विपद्मा परी काठमाडौंमा २, कोशी प्रदेशमा २२, मधेसमा ५, वाग्गमतीमा २०, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा ७ र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार विपद्मै परी काठमाडौंमा ८, कोशी प्रदेशमा ३४, मधेसमा ९, वाग्मतीमा ७, गण्डकीमा २९, लुम्बिनीमा ९, कर्णालीमा ३३ र सुदूरपश्चिम प्रदेशमा १४सहित १ सय ४३ जना घाइते भएका छन् ।

यसैगरी कोशी प्रदेशमा ४१, गण्डकीमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशीमा २, मधेसमा १, वाग्मतीमा २, गण्डकीमा १, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जनासहित ८ जना बेपत्ता भएका प्रवक्ता कार्कीले बताए ।

उनले भने, ‘बाढीपहिरोलगायत विपद्मा परी बेपत्ता भएकाको खोजी भइरहेको छ ।’ सिमलताल दुर्घटनामा बेपत्ता भएकाको तथ्यांक यहाँ समावेश नगरिएको प्रहरीले जनाएको छ । बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् ।

२ सय २२ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्मा ५ सय ८५ वटा पशुचौपाय मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ७ सय २१ परिवार विस्थापित भएका छन् ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार