Friday, October 18, 2024

पहिरोले घर बगाउँदा ३ बालिकाले गुमाए ज्यान

१ साउन, काठमाडौं
पहिरोले घर बगाएपछि रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा ३ जनाको निधन भएको छ ।

बगरनजिक तातोपानी खोलाले घर बगाएपछि ३ जना बालिकाको मृत्यु भएको हो । ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिसा पुन र ४ वर्षीया मनिषा सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाको लेदोमा पुरिएर बालिकाले ज्यान गुमाएका हुन् ।

सो क्षेत्रमा बाढीले ५ वटा घरमा क्षति पु–याएको छ ।

रुकुम पश्चिममै झिन्चौर खोलाको बाढीले बगाएपछि एक जना बेपत्ता भएका छन् । स्थानीय ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता भएका हुन् । बाढीले अन्य ७ जनालाई पनि बगाएकोमा उनीहरूलाई उद्धार गरी उपचारका लागि नगर अस्पताल लगिएको छ ।


सासु बुहारीले गुमाए ज्यान
संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरो खस्दा एकै परिवारका २ जनाको मृत्यु भएको छ ।

पहिरोले पुर्दा ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए । मृतक एकै घरका सासु बुहारी हुन् ।

सोही घटनामा गम्भीर घाइते भएकी २९ वर्षीया रविना राईलाई उद्धार गरी उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार