Sunday, October 6, 2024

पहिरोमा बेपत्ताको शव फेला

२३ असार, काठमाडौं
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार (२२ असारमा) पहिरोले घर पुरिएर बेपत्ता भएका ३ जनाको शव फेला परेको छ ।

पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये १ जनाको शनिबार राति र २ जनाको आज बिहान शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायका अनुसार पहिरोमा बेपत्ता भएका ४० वर्षीया हिरा नेपाली, ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाको शव फेला परेको हो ।

शव परीक्षणका लागि अस्पताल पठाइएको रायले जानकारी दिए । हिरा नेपाली र सुनमाया कुमालको घरमाथिबाट पहिरो खस्दै गर्दा घरभित्रका सामान स्थानीयले निकाल्ने क्रममा पुरिएर उनीहरू बेपत्ता भएका थिए । पहिरोमा ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते छन् ।

घाइतेहरूको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

राप्तीमा २ जनाको शव भेटियो

राप्ती नदीमा बेपत्ता भएका दाङका २ जनाको शव फेला परेको छ ।

शनिबार राप्तीमा आएको बाढीले लमही नगरपालिका–७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका–८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए ।

उनको शव आज (आइतबार) खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए । त्यस्तै दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान लमही नगरपालिका–७ हस्नापुर घाटबाट राप्ती नदीको बाढीमा बगेर बेपत्ता भएका राजपुर गाउँपालिका–२ बेलाका १७ वर्षीय राजकुमार यादवको पनि शव फेला परेको छ । उनको शव खोलाको बगरमा फेला परेको हो ।

हस्नापुर घाटबाट राजपुर गाउँपालिका–२ का ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने सशस्त्र प्रहरी बल नेपाल नं ४१ रिजर्भ गण अर्जुनखोलाबाट खटिएको टोलीले सकुशल उद्धार गरेको थियो ।


रासस

ताजा समाचार

सम्बन्धित समाचार