Sunday, October 6, 2024

नदी किनारामा प्रहरी गस्ती

२२ असार, काठमाडौं
अविरल वर्षासँगै उपत्यकाका खोला नदीमा जलसतह बढेर वस्तीमा पस्ने जोखिम उच्च भएपछि सुरक्षा निकायले सतर्कता बढाएका छन् ।

नदी किनाराका स्थानीयलाई सतर्क रहन अपिल गर्दै सम्भावित जोखिम रोक्न गस्ती थालिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । सो कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले भने, ‘बाढीले पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ ।’

वाग्मती, विष्णुमती, मनहरा, हनुमन्तेलगायतका नदी खोला किनारामा गस्ती जारी रहेको उनले जानकारी दिए । यो मनसुनमा अहिलेसम्म उपत्यकामा मानवीय क्षतिका घटना नभएको उनको भनाइ छ ।

भक्तपुरको हनुमन्ते खोलाको सतह बढेर बस्तीमा पस्न थालेको छ । खोला छेउछाउका सडक पानीले जलमग्न भएपछि सो भेगको जनजिवन प्रभावित बनेको छ ।

मानवीय क्षति हुन नदिन र दैनिक जनजिवनमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहज बनाउन उपत्यकाका तीनवटै जिल्लाका सुरक्षाकर्मी परिचालनका लागि तयारी अवस्थामा राखिएको प्रवक्ता मैनालीले बताए । कतैबाट समस्या भएको सूचना आउनेवित्तिकै सुरक्षाकर्मीको टोली परिचालन हुने छ,’ उनले भने ।’

नदी किनारा आसपासका बासिन्दालाई सतर्कता अपनाउन प्रहरीले माइकिङ गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार