Friday, July 5, 2024

३४ जिल्ला मनसुनको उच्च जोखिममा

१७ असार, काठमाडौं
देशभर मनसुन सक्रिय हुँदै गर्दा ३० भन्दा बढी जिल्ला अति प्रभावित क्षेत्रमा सूचिकृत छन् । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्ला अति प्रभावित हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले सोमबार (१७ असारमा) विशेष बुलेटिन जारी गर्दै ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगालाई ‘रेड अलर्ट’ अर्थात् उच्च जोखिमको सूचीमा राखेको छ ।

त्यसैगरी वाग्मती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा रेड अलर्टमा छन् । गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र लमजुङ उच्च जोखिममा छन् । लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुप पूर्वलाई पनि विभागले अति जोखिम मानेको छ ।

यही बिहीबार (२० असार)सम्म यी जिल्लाहरूमा उच्च सतर्कता अपनाउन विभागले अपिल गरेको छ । मनसुन न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिण भूभाग आसपास रहने भएकाले अधिकांश भेगमा वर्खे झरी सक्रिय बन्ने विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण छ ।

नदी, खोला, खहरे र जलाधार क्षेत्र आसपासका वस्तीमा जुनसुकै बेला बाढीको जोखिम बढ्ने विभागको बाढी पूर्वानुमान महाशाखाका अधिकारीहरूको ठहर छ । कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरू तथा वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह उल्लेख्य बढ्ने महाशाखाको विश्लेषण छ ।

ताजा समाचार

सम्बन्धित समाचार