Tuesday, July 2, 2024

वन्यजन्तुका लागि रोपिए १० हजार बिरुवा

१६ असार, झापा
पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले बिरुवा रोपेको हो ।

सामुदायिक वनको ७ सय ४९ हेक्टर क्षेत्रमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए । ‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत २ दिनमा सयौँ उपभोक्ताको सहभागितामा आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपिएको उनको भनाइ छ ।

जिल्लाको उत्तरी भेगमा जंगल क्षेत्र छ । जहाँ बर्सेनि सयौँ हात्ती नेपाल–भारत ओहोरदोहोर गर्छन् भने २ दर्जनको संख्यामा रहेका रैथाने जंगली हात्तीले यही जंगललाई बासस्थान बनाउने गरेका छन् । हात्तीबाहेक जंगलमा बस्ने बाँदरबाट पनि जंगल नजिकका बासिन्दा पिरोलिँदै आएका छन् । अहिले रोपिएका फलफूलका बिरुवा हुर्किएपछि बाँदर पनि आहारको खोजीमा गाउँ नआउने स्थानीयले ठानेका छन् ।

जंगली जनावर जंगलमै रमाउन् र उनीहरूलाई आहारा कमी नहोस् भन्ने सोचका साथ फलफूलका बिरुवा रोपिएको श्रेष्ठले बताए । आगामी वर्ष २० हजार बिरुवा रोप्ने योजना रहेको छ । हाल जंगलमा हात्ती र बाँदरका खानलायक बोटबिरुवा मासिइसकेका कारण समस्या भएको छ ।

दिउँसो जुकेखाडी जंगलमा बस्ने भोका हात्ती राति आहारको खोजीमा गाउँ आउँदा मानव–हात्ती द्वन्द्व हुने भएकाले ती बिरुवाले हात्तीलाई जंगलमै अलमल्याउने जुकेखाडी सामुदायिक वन समितिका उपभोक्ता दिपीन राईले बताए । ‘आहारको खोजीमा बस्तीमा पसेर हात्तीले दुःख दिने गरेका छन् । जंगलमा नै आहार पाएपछि ती गाउँ पस्न छाड्छन्, यसो हुँदा मानव–हात्ती द्वन्द्व घटाउन सहयोग पुग्छ,’ उनले भने।

समितिका अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक वनमा ३ हजार ५ सय ५८ उपभोक्ता छन् । जंगलमा बिरुवा रोप्न सामुदायिक वनका उपभोक्ता आफैले घरबाट बिरुवा संकलन गरेका थिए । जिल्ला डिभिजन वन कार्यालयले थप ३ हजार बिरुवा दिने भएको समितिले जनाएको छ ।

उक्त कार्यालयका प्रमुख मेघराज राईले जिल्लाका सबै सामुदायिक वनले आ–आफ्ना क्षेत्रमा हात्तीलाई मनपर्ने केरा, बासँलगायत बिरुवा रोप्ने गरेको बताए । वन कार्यालयको पनि उनीहरूलाई बिरुवा उपलब्ध गराएर सहयोग गर्ने नीति रहेको उनको भनाइ छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार