जलवायु र विपद् न्यूनीकरण गर्न क्षेत्रीय सहकार्यमा जोड

११ कात्तिक, काठमाडौँ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्यांक आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिएका छन् ।

संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा थाइल्याण्डको बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उनले क्षेत्रीय सहकार्यको खाँचो औँल्याएका हुन् ।

सम्मेलनको उद्घाटन सत्रलाई बुधबार विहान (११ कात्तिकमा) सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जलवायु तथा भू–विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोगमा जोड दिएका हुन् । सम्बोधनका क्रममा उनले हालै लङटाङ लिरुङमा हिमपहिरो तथा बूढीगण्डकी क्षेत्रमा पहिरोका कारण भएका ठूला विपद्, जनधनको क्षति र निर्माणाधीन जलविद्युत् आयोजनामा पुगेको असरबारे ध्यानाकर्षण गराए ।

द्रुत क्षति तथा आवश्यकता आकलनअनुसार विपद्को प्रभाव करिब २.७ अर्ब अमेरिकी डलर बराबर रहेको र पुनःनिर्माणका लागि करिब ४.८ अर्ब डलर आवश्यक पर्ने मन्त्री क्षेत्रले जानकारी गराए । साथै उनले बैंकक मन्त्रीस्तरीय घोषणापत्रको मस्यौदाको स्वागत गर्दै सन् २०२६ देखि २०३० सम्मको तेस्रो चरणमा उपग्रहबाट प्राप्त तथ्यांक साझेदारी, पूर्वसूचना प्रणाली र प्राविधिक सहयोगलाई सुदृढ बनाउन अपिल गरे ।

साथै, हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य (०.०१%) रहे पनि सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने र स्वच्छ ऊर्जा प्रणालीको रक्षा गर्ने नेपालको प्रतिबद्धता दोहोर्याए । सम्मेलनका अवसरमा भोलि बिहीबार नेपाल र संयुक्त राष्ट्रसंघीय ईएससीएपीको संयुक्त आयोजनामा ‘सगरमाथादेखि सागरसम्मः भोटेकोशी–त्रिशूली विपद्का पाठहरू’ विषयक क्षेत्रीय संवाद समेत सञ्चालन हुन गइरहेको पनि जानकारी गराउँदै सहभागी हुन अनुरोध गरे ।

ताजा समाचार

सम्बन्धित समाचार