नेपालतर्फ फैलियो अर्नब चक्रवातको प्रभाव

११ कात्तिक, काठमाडौं ।

अर्नब चक्रवातको प्रभाव नेपाली भू–भागमा समेत देखिन थालेको छ ।

बंगालको खाडीमा विकसित भएको शक्तिशाली आँधीको प्रत्यक्ष प्रभाव भारतका विभिन्न क्षेत्रमा विस्तार हुँदा त्यसको आंशिक प्रभाव नेपालमा देखिन थालेको हो ।

चक्रवातको प्रभावले भारतको आन्ध्र प्रदेशको काकिनाडामा कयौँ रूखहरू ढलेका छन् । विद्युतका तारहरू समेत चुँडिएपछि जनजीवन प्रभावित बनेको छ । साथै विशाखापट्टनममा सडक अवरूद्ध भएका छन् । समुद्री तटीय क्षेत्रका बस्ती प्रत्यक्ष प्रभावित हुने भएपछि सम्भावित जोखिम क्षेत्रमा चेतावनी जारी गरिएको छ ।

अर्नब चक्रवातको प्रभावले बुधबार दिउँसोदेखि नेपालका विभिन्न भेगको मौसम बदलिन थालेको छ । वर्षा भने भोलि बिहीबारबाट हुने नेपाल मौसम विज्ञान विभागको प्रक्षेपण छ । विभागका अनुसार यो मौसम प्रणालीले नेपालका हिमाली क्षेत्रहरू बढी प्रभावित हुने छन् । आगामी शनिबारसम्म मौसम प्रभावित हुने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिलेको मौसमी प्रणालीले चट्याङसहित भारी वर्षा र हावाहुरी आउने विश्लेषण गरिएको छ ।

अर्नब चक्रवातको प्रभावले नेपालमा समेत पर्ने भएपछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको समेत जोखिम रहेकाले सर्वसाधारणलाई सावधानी अपनाउन प्राधिकरणले यस्तो आग्रह गरेको हो । त्यसैगरी, पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र उक्त क्षेत्रमा पुगिसकेका पर्यटकलाई जोखिम अवधिभर सुरक्षित स्थानमा बस्न भनिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार