Sunday, June 30, 2024

चट्याङले ३ दिनमा ७ जनाको निधन

१२ असार, काठमाडौं
चट्याङबाट कैलालीको धनगढी र जोशीपुरमा २ जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१८ एफ गाउँका २७ वर्षीय शालिम चौधरी र जोशीपुर गाउँपालिका–३ भित्रिया गाउँका ३१ वर्षीय जयराम डगौराको बुधबार विहान (१२ असारमा) निधन भएको हो ।

आफ्नै घरसँगको खेतमा रोपाई गर्ने क्रममा डगौरा चट्याङ लागेर घाईते भएका थिए । उनको स्थानीय महापर्वती क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमै काम गरिरहँदा चट्याङबाट घाईते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

कैलालीमै चट्याङ लागेर ३ जना स्कुले किशोरी गम्भीर घाइते भएका छन् । बुधबार विहान साढे ६ बजे आसपासमा घरबाट विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनीमा ७ देखि १० वर्षका बालिका घाइते भएका हुन् । ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहोराले जानकारी दिए ।

उनीहरू अध्ययनरत मोहन्याल आधारभूत विद्यालयमा अध्ययनरत नजिक पुगेका बेला चट्याङ परेको थियो । उनीहरूलाई घोडाघोडी अस्पतालबाट रेफर गरेर बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ । एकजनाको पेटमा चोट र २ जनाको टाउकोमा चोट लागेको छ ।
कैलालीमै खेतमा काम गर्ने क्रममा भजनी नगरपालिका ६ का ५५ वर्षीय रामबहादुर चौधरी चटयाङ् लागेर घाइते भएका छन् । हातमा चोट लागेका उनलाई उपचारका लागि धनगढी रेफर गरिएको छ ।

वर्षासँगै परेको चट्याङले रोल्पामा २ जनाको मृत्यु भएको छ । मंगलबार बिहान पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–३ का एक महिला र एक किशोरीको ज्यान गएको हो । सुनछहरी–३ बाहिरीगामस्थित दाङ्जा गाउँका २२ वर्षीया जैता घर्ती मगर र १४ वर्षीया गोमाला घर्तीमगरको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । नन्द भाउजु नाता पर्ने एकै घरका दुई जनाको निधन भएको प्रहरीले प्रष्ट्याएको छ ।

यसअघि सोमबार र मंगलबार झापामा २ जना र दाङमा एक जनाको निधन भएको थियो । झापाको कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरीको चट्याङबाट निधन भएको थियो । सोमबार साँझ घरमै मोबाइल चलाइरहेका दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेका १० वर्षीय सुवास विकको निधन भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार