Sunday, October 6, 2024

जंगली च्याउले गुम्यो ३ जनाको ज्यान

११ असार, मकवानपुर
जंगली च्याउ खाँदा मकवानपुरमा ३ जनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न भेगमा १६ जना बिरामी छन् ।

मकवानपुरगढी, कैलाश र राक्सिराङ गाउँपालिकामा ८ बिरामी भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हेटौंडा अस्पतालमा उपचार पश्चात ८ जना घर फर्किएका र अन्य ८ जनाको चितवनस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

कैलाश गाउँपालिका–९ नामटारमा ४ वर्षीय दीपेश लामाको मृत्यु भएको छ । च्याउको तरकारी खाएर बिरामी भएका उनको उपचार पश्चात घर ल्याएर पुनः स्वास्थ्यमा समस्या देखिएपछि निधन भएको हो ।

कैलाश गाउँपालिका–९ मा २५ वर्षीया निरुमाया रुम्बाको उपचारको क्रममा मृत्यु भएको हो । यही ३ असारमा बिरामी भएकी उनको सुरुमा हेटौंडा अस्पताल र पछि चितवन लगिएकोमा पुनः ९ असारमा हेटौंडा अस्पतालमा उपचार गर्दा निधन भएको हो ।

आइतबार (९ असारमा) राक्सिराङ गाउँपालिका–७ दुगुवाङमा ५५ वर्षीय बल बहादुर प्रजाको उपचारको क्रममा मृत्यु भएको छ । प्रजाले जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा एकै परिवारका ५ जना बिरामी भएका थिए । दुगुवाङमा ४५ वर्षीया जालिमाया प्रजा, १५ वर्षीय रेन्जु ८ वर्षीया सविना र १० वर्षीय सुशील बिरामी भएकामा उनीहरूको स्वास्थ्य सुधार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राक्सिराङ गाउँपालिका–८ लाचेमा एकै परिवारका ४ जना बिरामी भएका छन् । राक्सिराङ–८का २१ वर्षीय भुवल प्रजा, २१ वर्षीय रतिमाया, ३ वर्षीय समिक र पूर्ण प्रजा बिरामी भएका हुन् । उनीहरूको चितवनको भरतपुरमा उपचार भइरहेको छ । त्यसैगरी मकवानपुरगढी गाउँपालिकाका ८ जना बिरामी भएका छन् । मकवानपुरगढी गाउँपालिका–६ सानुसल्ले र वडा नं. ५ कालीबनका ८ जना जंगली गोब्रे च्याउ खाए पश्चात बिरामी भएका हुन् ।

जंगली च्याउ खाएपछि मकवानपुरगढी गाउँपालिका–५ कालीबनका ६ वर्षीय समीर थिङ, १२ वर्षीय सानुकान्छी भुलुन बिरामी भएका थिए । त्यस्तै, मकवानपुरगढी–६ सानुसल्लेका ३२ वर्षीया सानु कान्छा पाख्रिन, २८ वर्षीय सुविता, ५ वर्षीय शुसान्त, ११ वर्षीय सोनिया, ४६ वर्षीय श्याम र ४३ वर्षीया एलिजा पाख्रिन बिरामी भएकामा उनीहरू उपचार पश्चात घर फर्किएका प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार