Monday, October 21, 2024

लुम्बिनी प्रदेश पुग्यो मनसुन

६ असार, काठमाडौं
मनसुनको प्रभाव लुम्बिनी प्रदेशसम्म फैलिएको छ । नेपाली भू–भागमा प्रवेश गरेको डेढ सातापछि मनसुनी प्रभाव लुम्बिनी प्रदेशको पूर्वी भेगसम्म विस्तार भएको हो ।

यो वर्षको मनसुन मनसुनी पात्रो भन्दा ३ दिन अगावै (गत २८ जेठमा) नेपालको पूर्वी भेग प्रवेश गरेको थियो । अङ्ग्रेजी महिनाको जुन १३ तारिखदेखि (जेठ ३०/३१) अक्टोबर २ (असोज १५/१६) सम्म नेपालका लागि मनसुनी पात्रो हो ।

सामान्यता नेपालमा मनसुन प्रवेश गरेको ७ देखि १० दिन हाराहारीमा नेपालभर वर्खे झरी सुरु हुन्छ । गत वर्ष सुदूरपश्चिम प्रदेशसम्म मनसुनी प्रणाली फैलिन २ साता लागेको थियो । तर यो वर्ष मनसुन भन्दा पश्चिमी वायुको प्रभाव बलियो भएकाले मनसुन विस्तार हुन समय लागेको जल तथा मौसम विज्ञान विभागका अधिकारी बताउँछन् ।

मनसुन कर्णाली र सुदूरपश्चिमसम्म फैलिन अझै केही दिन लाग्नसक्ने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष नेपालका अधिकांश स्थानमा औसत र कतिपय भेगहरूमा औसत भन्दा बढी वर्षा हुने दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोप) र मौसम विभागको प्रक्षेपण छ । नेपालका अधिकांश भेगमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत हाराहारी रहने प्रक्षेपण गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार