Sunday, September 8, 2024

हिमालमा सामान्य तह भन्दा कम हिउँ

५ असार, काठमाडौं
हिन्दकुश क्षेत्रमा हिउँको स्थायित्व र जमिनमा हिउँ रहने अवधि यस वर्ष सामान्यभन्दा अत्यन्त कम हुँदा तल्लो तटीय क्षेत्रमा पानीको अभाव हुने देखिएको छ ।

काठमाडौंमा मुख्यालय रहेको अन्तरसरकारी निकाय इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड)ले सोमबार (३ असारमा) सार्वजनिक गरेको वार्षिक ‘स्नो अपडेट रिपोर्ट–२०२४’ मा समयमै खडेरीजनित समस्या व्यवस्थापनका लागि रणनीति बनाउन सुझाइएको छ ।

यसैगरी आपत्कालीन अवस्थामा पानीको आपूर्ति सुनिश्चितताका लागि समयमै तयारी गर्न पनि प्रतिवेदनले सुझाएको छ । पूर्वमा म्यान्मारदेखि पश्चिमको अफगानिस्तानसम्म फैलिएको ३५ सय किलोमिटर हिन्दकुश हिमालय क्षेत्रबाट पग्लने हिउँले यो क्षेत्रका १२ प्रमुख नदीको पानीको प्रवाहमा सरदर २३ प्रतिशत हिस्सा लिन्छन् ।

तर हरेक नदीमा प्रवाह हुने पानीको आपूर्तिमा यो क्षेत्रको हिउँको योगदान फरक–फरक छ । उदाहरणका लागि मध्य एसियामा बग्ने अमुदार्या नदीमा प्रवाह हुने ७४ प्रतिशत पानी, अफगानिस्तान हुँदै बग्ने हेलमन्ड नदीको ७७ प्रतिशत पानी र सिन्धु नदीमा प्रवाह हुने ४० प्रतिशत पानीमा हिन्दुकुश हिमालय क्षेत्रबाट बग्ने हिउँको योगदान छ ।

हिउँको तह अनुगमनले यो क्षेत्रमा यस वर्ष हिउँ सामान्य तहभन्दा २० प्रतिशतले कम रहेको देखाएको छ । विशेषगरी पानी आपूर्तिमा अत्यधिक योगदान रहेको हिन्दकुश हिमालयको पश्चिमी क्षेत्रमा नाटकीय हिसाबले हिउँ तहमा कमी देखिएको इसिमोडका वैज्ञानिकले जनाएका छन् ।

प्रतिवेदनअनुसार हेलमन्ड नदी जलाधार क्षेत्रमा पानीको अविरल प्रवाहमा ३१.८ प्रतिशतले ह्रास आएको छ । यसअघि सन् २०१८ मा यो प्रवाहमा सर्वाधिक ४२ प्रतिशतले कमी आएको थियो । यसैगरी सिन्धु जलाधार क्षेत्रमा पानीको प्रवाहमा २३.३ प्रतिशतले कमी आएको छ, जुन विगत २२ वर्षकै सबैभन्दा कम स्तर हो ।

यो क्षेत्रमा सबैभन्दा कम प्रभाव परेको मेकोङ जलाधार क्षेत्र हो, जहाँ हिउँको उपस्थितिमा मात्र १ प्रतिशतले कमी आएको छ । ‘हामीले हिन्दकुश हिमालयमा हिउँको मात्रा व्यापक रूपमा घट्दै गएको पाएका छौं । विशेषगरी विगत २२ वर्षमध्ये १३ वर्षमा सरदरभन्दा कम हिउँको मौसमी स्थिरता देखिएको छ,’ प्रतिवेदनका लेखकसमेत रहेका इसिमोडका क्रायोस्फेयर विज्ञ सेर मोहम्मदले भनेका छन् ।

अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू र तल्लो तटका समुदायहरूका लागि यो जाग्ने घण्टी (वेक–अप–कल) हो । हिमालका टाकुरामा हिउँको सतहमा आएको कमी र हिउँको उतार–चढ़ावले यो वर्ष पानीको आपूर्तिमा अत्यन्त गम्भीर प्रभाव पर्न सक्ने देखिएको छ,’ उनले भनेका छन् ।

इसिमोडका अर्का वरिष्ठ क्रायोस्फेयर विज्ञ मिरियम ज्याक्सन समस्या समाधानका लागि संकट आउनुअघि नै उपायहरू खोजिनुपर्ने ठान्छिन् । ‘विशेषगरी गर्मीयाममा पर्न सक्ने खडेरीका बेला पानी व्यवस्थापन गर्न र जोखिममा रहेका समुदायलाई पूर्वसूचना दिन आवश्यक छ,’ उनले भनिन् ।

यसैगरी उत्सर्जित कार्बनले यो क्षेत्रमा हिउँ पर्ने र पग्लने समग्र प्रणालीमा पारेको असरसँग जुध्न यस क्षेत्रका सरकार र समुदायलाई तत्काल सहयोग आवश्यक रहेको प्रतिवेदनमा औंल्याइएको छ । ‘जी–२० समूहका देशले कार्बन उत्सर्जन कटौतीलाई तीव्र हिसाबमा घटाउन आवश्यक छ । त्यसो गर्न सकेमा मात्र यो क्षेत्रको अधिक जनसंख्याले खेप्नुपर्ने विपत् रोक्न सकिन्छ,’ ज्याक्सन भन्छिन् ।

इसिमोडको प्रतिवेदनका अनुसार ब्रम्हपुत्र नदी जलाधार क्षेत्रमा १४.६ प्रतिशत र गंगानदी जलाधारमा १७ प्रतिशतले हिउँको उपस्थितिमा कमी आएको छ । यसैगरी तिब्बती पठारमा सरदरभन्दा १४.८ प्रतिशत र याङजे नदी जलाधार क्षेत्रमा २४.२ प्रतिशतले हिउँ घटेको प्रतिवेदनमा उल्लेख छ ।


नागरिक दैनिक

ताजा समाचार

सम्बन्धित समाचार